वैदेशिक रोजगार त्यागेर ‘घुम्तीगोठमा भेडापालन’ बाट आत्मनिर्भर
- १६ जेष्ठ २०८२, बिहीबार
- कमल खत्री
- 247 पटक पढिएको
म्याग्दी , १५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलाका युवा टिका पुन वैदेशिक रोजगार त्यागेर पुर्खाहरुको पेसा ‘घुम्तीगोठमा भेडापालन’ गरेर आत्मनिर्भर बन्नुभएको छ । रोजगारको शिलसिलामा कतारमा दुई बर्ष काम गरेपछि घर फर्कनुभएका ४१ बर्षिय पुनले आफ्नै गाउँमा भेडापालन गर्ने निधो गरेर कतारको रोजगारीलाई त्याग्नुभएको थियो ।
‘‘ मरुभूमिको देशमा काम अनुसारको कमाई त थियो, खाडी मुलुकमा बगाउने पसिना आफ्नै गाउँका वन जंगल, पाखाबारी र डाँडाकाँडामा बगाउने अठोट गरेर फर्किएको थिए, भेडापालनबाट अहिले घरखर्च चलाउन सजिलो भएको छ, खाडीको रोजगारी भन्दा आफ्नै भेडीगोठको कमाईबाट सन्तुष्ट छु’’– पुनले भन्नुभयो ।
पुनले विगत १४ बर्षदेखि घुम्तीगोठमा भेडापालन गर्दै आउनुभएको छ । पुनलाई भेडीगोठमा उहाँकै छोरा प्रतिक पुनले सघाउने गर्नुभएको छ । विद्यालय तहको अध्ययन सकेर प्रतिक पनि आफ्नो बुबाले अंगालेको भेडापालन पेसामा लाग्नुभएको हो । गाउँमा परम्परागत रुपमा हुँदै आएको घुम्ती गोठको भेडापालन हराएर जाने अवस्थामा पुगेपनि पुनका बाबु छोराले भेडापालनको पेसालाई जोगाएका छन् ।
सुरुवातमा रु ६ लाख लगानीमा १५० वडा भेडा खरिद गरेर घुम्तीगोठ सुरु गर्नुभएका पुनको भेडिगोठमा अहिले २५० देखि तीन सय सम्म भेडा हुन्छन् । बर्षमा ७० वटासम्म भेडा, साँड, खसी विक्रि हुने गरेको पुनले बताउनुभयो । वन जंगल र बुकीका जडिबुटीयुक्त चरन क्षेत्रमा पालन गरिने भेडा, साँड र खसीको माग अत्यधिक हुने भएकाले विक्रिका लागि बजारको अभाब हुँदैन् ।
खासगरी विभिन्न थानहरुमा भाकल पूजाको लागि साँड र बोकाहरुको माग धेरै हुने गर्छ भने दशैँ, तिहारलगायतका ठूला चाडपर्व र विवाह, ब्रतबन्ध लगायतका संस्कारजन्य कार्यहरुका लागि खसी र भेडा खरिद गर्न उपभोक्ताहरु गोठमै आउने गरेको पुनले बताउनुभयो । भेडापालनलाई व्यवसायिक र व्यवस्थित गर्न पुनले भेडापालन फर्म नै दर्ता गर्नुभएको छ ।
भेडापालनमा लागेको बर्षौ भएपनि अहिलेसम्म राज्यबाट कुनै सुविधा नपाएको पुनको गुनासो छ । बार्षिक रुपमा फर्मबाट सरकारलाई कर तिर्देै आएपनि आफ्नो भेडिगोठलाई कुनै पनि सरकारी निकायबाट अनुदान र सहयोग प्राप्त नभएको उहाँले बताउनुभयो । परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिने भेडापालनलाई व्यवस्थित गराउन भेडापालक कृषकहरुले वन जंगलमा घुम्ती गोठको टहरा बनाउन माग गर्दै आएका छन् । भेडीगोठका किसान र हेरालुहरुलाई हिउँदको हिमपात र बर्षातमा लेकाली क्षेत्रका बुकीमा त्रिपाल र भकारीको छाप्रोमुनी कष्टकर तवरले बस्नुपर्ने बाध्यता रहेको छ ।
अस्थायी टहरा नहुँदा भेडाहरुलाई खुला आकासमा राख्नुपर्दा बर्षा, हिमपात र चिसोको कारण ठूलो संख्यामा भेडाहरु मर्ने र आर्थिक क्षति व्यहोर्नु पर्ने बाध्यता रहेको भेडापालक किसानहरु बताउँछन् । पछिल्लो समय घुम्तीगोठको भेडापालन हराएर जान थालेको छ । चिमखोलागाउँमा टिका पुन संगै जगत पुन र रत्न पुनले समेतले घुम्ती गोठको परम्परागत भेडापालनलाई निरन्तरता दिदै आउनुभएको छ । घुम्ती गोठका भेडालाई जेठदेखि लेकाली क्षेत्रमा लैजाने गरिन्छ भने असोज लागेपछि फेदी र बेँशीमा गोठ झार्ने गरिन्छ ।

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l