सेवानिवृत्त शिक्षक गौतम : ‘हाते कागज उद्योग सञ्चालन गरेर स्वरोजगार’
- १५ जेष्ठ २०८२, बुधबार
- 157 पटक पढिएको
म्याग्दी , १४ जेठ । म्याग्दीको मालिका गाउँपालिका– ६ दरबाङका सेवानिवृत्त शिक्षक मोतिराज गौतमले हाते कागज उद्योग सञ्चालनमा ल्याउनुभएको छ । ४१ बर्ष लामो शिक्षण पेशाबाट अबकास लिएपछि गौतमले मालिका गाउँपालिका– ५ थापाचौरमा जग्गा भाडामा लिएर ‘मालिका कागज उद्योग’ सञ्चालनमा ल्याउनुभएको हो । 

एक दशक अघि सामुहिक रुपमा सुरु भएको कागज उद्योग घाटामा गएपछि बन्द भएको थियो । ६ बर्षदेखि उद्योगको सबै स्वामित्व लिएर मालिका गाउँपालिका ३ अधिभारामा हाते कागज उत्पादनलाई निरन्तरता दिनुभएका गौतमले शिक्षण पेशाबाट सेवानिवृत्त भएपछि अहिले नयाँ व्यवस्थापन र उत्पादन क्षमता बढाएर उद्योगलाई नयाँ स्वरुपमा सञ्चालनमा ल्याएको बताउनुभयो ।
https://www.youtube.com/watch?v=KmNziwuM_PE
‘‘थापाचौरमा ५ रोपनी जग्गा भाडामा लिएर गोदाम घर, प्रशोधन केन्द्र र कागज सुकाउनका लागि टनेल घर बनाएको छु, फ्रेममा राखेको कागज सुकाउनका लागि टनेल घर बनाएपछि पानी परेको समयमा समेत कागज उत्पादन गर्न सकिने सुविधा भएको छ, पूर्वाधार विस्तारले उद्योगबाट कागज उत्पादन गर्ने क्षमता बढेको छ’’– गौतमले भन्नुभयो । 

जंगलमा पाइने बरुवाको लोक्तालाई प्रशोधन गरेर हाते कागज बनाउने गरिन्छ । उद्योगमा मालिका गाउँपालिका– २ रुम र ३ डाँडागाउँका चार वटा सामुदायिक बनबाट उपभोक्ताहरुले बरुवाको लोक्ता संकलन गरी विक्रि गर्दै आएका छन् । संकलनकर्ताबाट उद्योगले रु प्रतिकिलो ८० देखि १०० सम्ममा लोक्ता खरिद गर्दै आएको छ । उद्योगले कागजको प्रयोजन अनुसार धुप बनाउनका लागि ७ ग्राम, कार्यालय प्रयोजनका लागि २० ग्राम र चिना लेख्ने नेपलाी कागज ४० ग्रामको गुणस्तरमा उत्पादन गर्दै आएको छ । 

उद्योगमा उत्पादन भएको हाते कागज म्याग्दीका साथै, बागल्ुङ , कास्की र काठमाण्डौसम्म खपत हुने गरेको छ । उद्योगमा बाटेको धुप बनाउने, कार्यालय प्रयोजनका लागि फोटोकपि पेपर, चिना, तमसुक र निवेदन लेख्ने प्रयोजनका लागि हाते कागजको माग आउने गरेको सञ्चालन गौतमले जानकारी दिनुभयो ।
उद्योगमा लोक्तालाई प्रशोधनका लागि विद्युतिय बोयल, बिटर र कटिङ मेसिन जडान गरिएको छ । ‘‘लोक्ताबाट कागज बनाउने परम्परागत र रैथाने सिप हो, जंगलमा खेर गएको लोक्ताको उपयोग गरी स्थानीय स्तरमा आयआर्जन र रोजगारि बढाउनु मेरो प्रमुख उदेश्य हो, कागज किन्नकै लागि बाहिरीने पैसालाई स्थानीय स्तरमै रोक्न सकिन्छ कि भन्ने लागेर यता लागेको छु’’– उहाँले भन्नुभयो । वि.स. २०७६ देखि एकल रुपमा हाते कागज उद्योग सञ्चालन गर्दै आउनुभएका गौतमको उद्योगमा अहिले दैनिक ५ जनाले रोजगारी पाएका छन् । गौतम दम्पती समेत उद्योग स्थापना गरेर स्वरोजगार बन्नुभएको छ । एकै पटक ६ सय फ्रेममा कागज उत्पादन गर्ने क्षमता रहेको यस उद्योगमा रंगीन नेपाली कागज समेत उत्पादन गर्न थालिएको छ । 

मेसिन, औजार उपकरण र सामाग्री खरिद तथा व्यवस्थापनमा रु २५ लाख लगानी भएको उद्योगका सञ्चालन गौतमले जानकारी दिनुभयो । उद्योगबाट बार्षिक १५ लाख बढीको कागज विक्रि हुने गरेको छ । गौतम परिवारले दरबाङ बजारमा मालिका हेन्डिग्राफ स्टोर्स सञ्चालन गरेर उद्योगबाट तयार हुने हाते कागजबाट नोटबुक, रजिष्टर, फाइल, खाम लगायतका सामाग्री समेत उत्पादन गरेर विक्रि गर्दै आएका छन् ।
मालिका कागज उद्योगको स्तरीकरणमा गाउँपालिका र गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले सघाएका छन् । यस बर्ष मन्त्रालयले हाते कागजलाई अन्तिम रुप दिने क्यालेण्डिङ मेसिन खरिदमा रु १ लाख ५० हजार अनुदान उपलब्ध गराएको छ । मालिका गाउँपालिकाले समेत हाते कागज उद्योगमा कागज सुकाउनका लागि टनेल घर निर्माण, ट्रसको छानो निर्माण र पानी व्यवस्थापनमा रु २ लाख ५० हजार सहयोग गरेको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिनुभयो । 

उहाँले गाउँपालिकाले स्थानीय स्तरमा उद्यमशिलताको विकासमा गाउँपालिकाले सिप, प्रविधि र पूर्वाधार निर्माणमा सघाउने गरेको बताउनुभयो । यस उद्योगले जिल्लामा रहेका स्थानीय तह र सरकारी कार्यालयहरुले प्रयोग गर्ने नेपाली कागज जिल्लामै उत्पादन भएको कागजलाई उपयोग गर्ने नीति ल्याएमा उद्योगको क्षमता विस्तार गर्ने र धेरैलाई रोजगारि सिर्जना गर्न सकिने जनाएको छ । 

म्याग्दीको मालिका गाउँपालिकाका साथै, धवलागिरी, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको २ हजार ४ सय मिटरदेखि ३ हजार २ सय मिटर उचाईसम्मको जंगलमा प्रशस्त मात्रामा बरुवा पाइने गर्छ । एक पटक बरुवाको लोक्ता निकालेपछि पुनः ५ बर्षपछि सोही विरुवाबाट लोक्ता निकाल्न सकिन्छ । म्याग्दीमा यस अघि पनि हाते कागज उद्योग सञ्चालनमा आउने र बन्द हुने क्रम जारी छ । वन पैदावारमा आधारित उद्योग भएकाले कच्चा पदार्थ संकलन, उद्योग सञ्चालन देखि उत्पादन भएका सामाग्रीको निर्यातमा झण्झटीलो कानुनी प्रकृयाको कारण हाते कागज उद्योगहरुको स्थायित्व र दिगोपनामा चुनौति देखिएका छन् ।


