रघुगंगामा ९५ जनाको मोतियाबिन्दुको सल्यक्रिया, विरामीले मनाए खुसीयाली
- ११ जेष्ठ २०८२, शनिबार
- कमल खत्री
- 1 पटक पढिएको
म्याग्दी , १० जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलाकी ८१ बर्षिय सुकुमा नेपालीले तीन बर्षदेखि आँखामा मोतियाबिन्दुको समस्या देखिएपछि राम्रोसंग आँखा देख्न छाड्नु्भएको थियो । खर्चको व्यवस्थापन र ठूलो शहरमा पुगेर आँखाको सल्यक्रिया गर्ने चाँजोपाँजो मिलाउन नसकिरहेको समयमा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित निःशुल्क सल्यक्रिया सहितको आँखा उपचार शिविरमा नेपालीले घरआँगनमै सहज रुपमा उपचार गर्ने अवसर पाउनुभयो ।
‘‘आँखाले मधुरो देख्ने भएको थिए, शहरमा पुगेर उपचार गराउन पाएको थिइन, बुढेसकालमा फेरी आँखा खुल्छन जस्तो लागेकै थिएन, गाउँमै आएको शिविरमा आँखाको उपचार गरेपछि अहिले राम्रोसंग देख्न सक्ने भएको छु’’–नेपालीले भन्नुभयो ।
शिविरमा मोतियाबिन्दुको सल्यक्रिया गरेर उपचार सेवा लिनुभएकी रघुगंगा गाउँपालिका– ३ मौवाफाँटकी धनीमायाँ बुद्धिजाले घरआगनमै शिविर राखेर गाउँपालिकाले खर्च नगरिकन उपचार गर्ने सुविधा दिएको बताउनुभयो । रघुगंगा गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंको प्राविधिक सहयोगमा तीन दिनसम्म सञ्चालन भएको मोतियाविदुको निःशुल्क शल्यक्रिया शिविरमा ९५ जनाको आँखाको सल्यक्रिया गरीएको छ ।
शनिवार सम्पन्न शिविरमा १६० जनाले आँखा परिक्षण सेवा लिएका छन् । वडा स्तर र गाउँपालिकामा आयोजित शिविरबाट १ हजार ३९ जनाले आँखा परिक्षण सेवा लिएको गाउँपालिकाले जनाएको छ । शिविरमा उपचार सेवा लिएकाहरुले गाउँघरमै सहज र सुलभ तरिकाले आँखाको उपचार गराउन पाएकोमा नाचगान गरेर खुसीयाली मनाएका छन् । बृद्धबृद्धा अवस्थामा गुम्दै गएको ज्योति शिविरमा चिकित्सकहरुको उपचारपछि फर्किएर उज्यालो देख्न पाएकोमा उनीहरुले नाचगान गरेर खुसीयाली मनाएका थिए ।
ग्रामीण र दुर्गम गाउँबस्ती रहेको यस गाउँपालिकाभित्र पालिकाको समन्वयमा तिलगंगा आँखा प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुले वडा स्तरमा गरेको आँखा जाँच शिविरमा धेरै जनामा मोतियाबिन्दुको समस्या भेटिएपछि सल्यक्रिया सहितको शिविर राखेर निःशुल्क उपचार गर्ने प्रवन्ध गरिएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।
‘‘दुई महिनाअघि वडा नम्बर २ भगवतीमा गरेको शिविरमा मात्रै ४८ जनामा मोतियाबिन्दुको समस्या भएका विरामीहरु पहिचान भएका थिए, त्यसपछि सबैवडामा आँखा जाँच शिविर राख्यौँ, वडा स्तरको शिविरबाट १४६ जनामा मोतियाबिन्दुको पहिचान भयो, ठूलो संख्यामा मोतियाबिन्दुका समस्या भएका विरामीहरु भेटिएपछि विशेषज्ञ टोलीलाई पालिकामै ल्याएर उपचार सेवा दिएका हौँ’’– गाउँपालिका अध्यक्ष भण्डारीले भन्नुभयो ।
गाउँमै आँखा उपचारको विशेषज्ञ सेवा सहित शिविर सञ्चालन भएपछि सर्वसाधारण नागरिकहरुलाई ठूला शहरमा पुगेर आँखाको सल्यक्रिया गर्नुपर्ने बाध्यता र झण्झट हटेको छ भने समय र सम्भावित आर्थिक खर्चको समेत बचत भएको छ । विरामीहरुको आँखाको परिक्षण, मोतियाबिन्दुको निःशुल्क अप्रेसन सहितको उपचार सहित चश्मा वितरण गरिएको र निःशुल्क रुपमा एक सातापछि फलोअप सेवा समेत दिने तयारी गरिएको तिलगंगा आँखा प्रतिष्ठान अस्पतालका नेत्र अधिकृत मनकृष्ण डङ्गोलले जानकारी दिनुभयो ।
शिविरमा विरामीको दृष्टिसंगै सुगर, प्रेसर, रगतलगायतको परिक्षण र चेकजाँच समेत गरीएको थियो । शिविरमा तिलगंगा आँखा अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञ डा इन्दिरा पौडेल नेतृत्वको नेत्र अधिकृत र स्वास्थ्यकर्मी र रघुगंगा गाउँपालिकाका स्वास्थ्यकर्मीहरु समेतको टोलीले उपचार, परामर्श तथा औषधी वितरण सेवा दिनुभएको थियो ।

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l