रघुगंगा गाउँपालिकामा प्रशासकीय भवन निर्माण सुरु (तस्बिर/ भिडियो)

  • १० जेष्ठ २०८२, शुक्रबार
  • कमल खत्री
  • 105 पटक पढिएको

म्याग्दी, ९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सुरु भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा निशुल्क रुपमा समुदायबाट जग्गा व्यवस्थापन भएपछि पालिकाको प्रशासकीय भवन निर्माण सुरु गरिएको हो । शुक्रवार धार्मिक विधिपूर्वक पूजाआजा सहित गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले प्रशासकीय भवनको शिलान्यास गर्नुभएको छ ।
गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१÷०८२ मा विनियोजन गरेको रु दुई करोड बजेटबाट प्रशासकीय भवन निर्माण सुरु गरेको हो । मातृभुमी डेभलपर एन्ड इन्जिनियरिङ प्रालिले रु एक करोड ३१ लाख ९८ हजारमा ठेक्का सम्झौता गरेर कार्यक्षेत्रमा परिचालन भएको छ ।

दुई बर्षमा भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य सहित भवनको शिलान्यास गरी निर्माण कार्य अघि बढाइएको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, रु ९ करोड ४० लाख ४४ हजार ९५० लागत अनुमान गरिएको भवन निर्माणको लागि थप बजेटका लागि गण्डकी प्रदेश सरकार र संघीय सरकारमा प्रस्ताब पेश गरिएको छ ।
गाउँपालिकाले ६ बर्ष अघिदेखि प्रशासकीय भवन निर्माणको लागि जग्गा व्यवस्थापनको काम सुरु गरेको थियो । ‘‘ करोडौँ मूल्य पर्ने जग्गालाई समुदायबाट निशुल्क उपलब्ध भएको छ, गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु हुनुमा जग्गाधनीहरुको ठूलो योगदान छ, हामीले पालिकाको सेवालाई सरल र सहज बनाउन पालिकालाई पूर्वाधारयुक्त बनाउनका लागि भवन बनाउने गौरबको योजना अघि बढाएका हौँ’’– गाउँपालिका अध्यक्ष भण्डारीले भन्नुभयो ।
यस बर्ष भवनको जग बसालेर स्टक्चर र पहिलो तला ढलानको काम सम्पन्न हुने गाउँपालिकाका सिनियर सब इञ्जिनियर कमलबहादुर चोखालले बताउनुभयो । तीन तलामा ३३ वटा कोठा र सभाहल सहितको सुविधा सम्पन्न भवन निर्माका लागि जग्गा सम्माएर जग बसाउने काम सुरु भएको उहाँले जानकारी दिनुभयो । निर्माण व्यवसायिले भवन निर्माणका लागि आबश्यक पर्ने निर्माण सामाजिक र उपकरणको बन्दोबस्त संगै जनशक्ति कार्यक्षेत्रमा परिचालन गरेको जनाएको छ ।
रघुगंगा गाउँपालिकालाई समुदायबाट २७ जनाले १४ रोपनी जग्गा निशुल्क उपलब्ध गराएका छन् । करोडाँै मुल्य पर्ने जग्गा गाउँपालिकाको भवनको लागि निशुल्क उपलब्ध भएपछि दुई बर्ष अघि गाउँपालिकाले निर्माण गरेको बहुउदेश्यीय भवनबाट सेवा प्रवाह गर्दै आएको छ । बहुउदेश्यीय भवनलाई कर्मचारी आवासगृहको रुपमा उपयोग गर्ने र सुविधा सम्पन्न भवन निर्माण गरेर नागरिकलाई सरल र सहज रुपमा सेवा उपलब्ध गराउने उदेश्यले प्रशासकीय भवन निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।
गाउँपालिकाको भवन निर्माण प्रयोजनका लागि २७ जना जग्गाधनीको २५ रोपनी जग्गा एकिकरण गरी प्लटिङ गरीएको थियो । जग्गा व्यवस्थापन कार्यविधि अनुसार, करिब १४ रोपनी जग्गा गाउँपालिकाको नाममा पास गरिएको छ भने जग्गाधनीहरुलाई ६ रोपनी जग्गा घडेरीको रुपमा फिर्ता गरिएको छ । बाँकी जग्गालाई उपयोग गरी पालिकाको वरीपरि ८ मिटर फराकिलो सडकको चक्रपथ बनाइएको छ ।       

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l