दग्नाम गाउँको भूमे पूजामा ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता
- ७ जेष्ठ २०८२, मंगलवार
- 1 पटक पढिएको
म्याग्दी, ६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा सयौँ बर्ष पुरानो साँस्कृतिक चिनारी बनेको ‘लिङ्गो जुधाउने’ प्रतियोगिता भएको छ । भूमे पूजाको अवसरमा मंगलवार आयोजित लिङ्गो जुधाउने प्रतियोगितामा कान्छी गाउँ बिजयी भएको छ । यस गाउँमा परम्परादेखि नै गैरी गाउँ र कान्छी गाउँले लिङ्गो जुधाईमा प्रतिस्पर्धा गर्दै आएका छन् ।
मंगलवार दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजा पतकाले सिंगारिएका अग्ला बाँसका लिङ्गा बोकेर मुन्का डाँडामा पुगेका स्थानीयले एकैसाथ लिङ्गो ठडाएर प्रतिस्पर्धा गराएका थिए । सयौँ जना सहभागी भूमे पूजाको उत्सवमा प्रतिस्पर्धा गराईएको लिङ्गो जुधाउने प्रतियोगितामा कान्छी गाउँ बिजयी भएको दग्नामका वडा अध्यक्ष पबिन गर्बुजाले बताउनुभयो ।
पुख्यौली सोरठी भाका र नाचका साथै पञ्चेवाजासहित भूमे पूजा मनाउन आयोजित उत्सवमा लिङ्गो जुधाईको प्रतिस्पर्धा अवलोकनमा पाँच सय बढीको सहभागीता रहेको थियो ।
गाउँको मौलिक परम्परा र संस्कृतिको रुपमा रहेको भूमे पूजा र लिङ्गो जुधाईको अवलोकनका लागि देश विदेशमा छरिएका दग्नामीहरु गाउँ फर्किएको वडा अध्यक्ष गर्बुजाले बताउनुभयो ।
मंगलवार विहान भूमे देवताको पूजा गरेपछी दिउँसो भुमे देवतालाई खुसी बनाउनका लागि स्थानीयल ेलिङ्गो जुधाएका हुन् । यस प्रतियोगितामा अग्ला–अग्ला सिंगारिएका बाँसका लिङ्गाहरुलाई प्रतिस्पर्धामा उतार्ने गरिन्छ । ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिका कारण दग्नामको भूमे पूर्जा दग्नामबासीका साथै छिमेकी गाउँका स्थानीयको लागि आकर्षण बन्ने गरेको स्थानीय अगुवा धनिलाल गर्बुजाले बताउनुभयो ।
प्रकृति पूजाको रुपमा मगर समुदायले भूमे पूजालाई महत्व दिएर पूजा गर्छन् । जेठा भुमेको रुपमा चिनीने भएकाले दग्नामबासीले हरेक बर्षको जेठ महिनाको पहिलो वा दोस्रो साताको मंगलवारको दिन पूजा गर्ने चलन छ । खेतीबालि राम्रो होस, बाढि, पहिरो, भुक्षय जस्ता प्राकृतिक प्रकोपको सामना गर्न नपरोस भन्ने कामना गर्दै भूमे देवताको पुजा गरिन्छ ।
तस्विर : धनिलाल गर्बुजा