ढोपाटन जोड्ने सडक आयोजना समृद्धिको आधार : राज्यमन्त्री गर्बुजा
- ७ जेष्ठ २०८२, मंगलवार
- 1 पटक पढिएको
बेनी । नेपाल सरकारका उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरबाङ–मुना–जलजला–ढोरपाटन सडक आयोजना समृद्धिको आधार बन्ने बताउनुभएको छ । सोमबार प्रदेश सभा (ख)अन्तर्गत धवलागिरी ,मालिका ,मंगला र तातोपानी कुण्ड लगायत विभिन्न ठाउँमा आयोजित बधाई तथा शुभकामना सहित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री गर्बुजाले यस्तो ताउनुभएको हो ।
काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वीरुकुम जोड्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडक छोटो दूरीको हो। ‘मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको दरबाङ–मुना–ढोरपाटन–पुर्वी रुकुम जोड्ने सडक आयोजना पश्चिम म्याग्दीको लाइफ लाइन हो । समृद्धिको आधार पनि हो ,’ कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका राज्यमन्त्री गर्बुजाले भन्नुभयो ,‘ संघ र प्रदेश सरकारको साझेदारीमा यो आर्थिक वर्षभित्र जोड्ने लक्ष्यका साथ निर्माण भइरहेको मुनादेखि ढोरपाटन जोड्ने सडक आयोजना अन्तिम चरणमा पुगेको छ । भने दरबाङदेखि मुना सम्म कालोपञ गर्न लागि १०–१२ दिन भित्र एक अर्बको ठेक्का आह्वान हुँदैछ । यो आयोजना निर्माण भएपछि म्याग्दी सहित बागलुङ ,पुर्वी रुकुमका साथै डोल्पाली नागरिकको समेत जीवनस्तर उकास्न ठुलो सहयोग पु¥याउँछ ।’ यो सडक आयोजा निर्माणका लागि आफुले सम्बन्धीत मन्त्रालय ,निकायमा दौडधुप र पटकपटक संसदमा समेत आवाज उठाएको बताउनुभयो । आगामी वर्षमा म्याग्दीदेखि डोल्पा जोड्ने उहाँले बताउनुभयो ।
केही विकास भएन भनेर निराश नहुन आग्रह गर्दै उहाँले भन्नुभयो,‘हामी निर्वाचित भएर आएपछि जिल्लाकै दुर्गम गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम चरणमा छ । अन्य ठुला सडक खानेपानी ,सिंचाइ लगायत पुर्वाधार विकासका कामहरु धमाधम भइरहेका छन् ,’उहाँले थप्नुभयो । यसैगरी उहाँले जिल्लाभित्र निर्माणाधिन जलविद्युत आयोजना बनेपछि जिल्ला र देशलाई ठुलो आर्थिक सहयोग पुग्ने बताउँदै समयमै सम्पन्न गर्नका लागि आफुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री गर्बुजाले नदी कटान र बाढीका कारण हुने क्षती रोक्न नदी कटानको उच्च जोखिममा रहेका दरबाङ,तातोपानी बजार,बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न नदी नियन्त्रणका आयोजना निर्माण भइरहेको र आगामी आर्थिक वर्षमा थप आयोजना संचालन हुने बताउनुभयो ।
धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका ,मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै थप विकास आयोजना ल्याउन र साझेदारीमा निर्माणाधिन योजनालाई बजेट पठाउन सहयोग गर्न आग्रह गर्नुभएको थियो । राज्यमन्त्री संगै मन्त्रालय अन्तर्गत सिंचाइ विभागका डिडिजी सन्तोष कैनी ,सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना प्रमुख विदुर श्रेष्ठ लगायतले सहभागि हुनुहुन्थ्यो ।
धवलागिरी गाउँपालिका उपाध्यक्ष रेशम पुन ,मालिका गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुन ,मंगला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्मा ,संविधान सभा सदस्य रेशमबहादुर बानियाँ ,कांग्रेस म्यादीका उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केवी भण्डारी ,कांग्रेस प्रदेशसभा (ख) कार्यसमिति सभापति टंकप्रसाद पुन लगायत स्थानीय नेता तथा कर्यकर्ता लगायतले बोल्नुभएको थियो ।