धौलागिरिमा वसन्तकालीन यामको पहिलो आरोहण

  • २९ बैशाख २०८२, सोमबार
  • 1 पटक पढिएको

म्याग्दी, २९ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका– ४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो ( ८१६७ मिटर) धौलागिरी हिमालमा वसन्तकालीन यामको पहिलो सफल आरोहण भएको छ । मौसम प्रतिकुलतालाई छिचोल्दै ६ जना विदेशी आरोही र ७ जना नेपाली शेर्पाहरुको टोलीले धौलागिरी हिमालमा चालु यामको पहिलो सफल आरोहण गरेका हुन् ।
सेभेन समिट ट्रेक्सका तर्फबाट ६ विदेशी र ७ जना नेपाली शेर्पा सहितको आरोही टोलीले शनिबार धौलागिरिको सफल आरोहण गरेको र उक्त टोली सकुसल फर्किएको सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिनुभयो।
उहाँका अनुसार , लाक्पा शेर्पाको नेतृत्वमा गएको टोलीले हिमालमा डोरी तान्ने र अप्ठेरो खोचहरुमा भ¥याङ राखेर बाटो बनाएपछि आरोहीहरुले धौलागिरीको सफल आरोहण गरेका हुन् । अन्य ६ जना विदेशी आरोही पनि हिमाल आरोहणका लागि अहिले आधार शिविरबाट हिमालतर्फको यात्रा तय गरिसकेका छन् ।
पर्यटन विभागका अनुसार चालु वसन्तयाममा धौलागिरि आरोहणका लागि दुई समूहका ९ जना पुरुष र ६ जना महिला गरी १५ विदेशी आरोहीले अनुमति लिएका छन्। धौलागिरी हिमालको आधार शिविर जाने पदमार्ग स्तरीय नहुँदा आरोहीहरु हेलिकप्टर मार्फत सिधै आधार शिविर पुग्ने र हिमाल आरोहण गर्ने गरेका छन् ।