म्याग्दीलाई गण्डकी प्रदेशमा पहिलो पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा

  • २८ बैशाख २०८२, आईतवार
  • 99 पटक पढिएको

म्याग्दी, २८ बैशाख । म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना कायम भएको जिल्ला घोषणा गरिएको छ । आइतवार सदरमुकाम बेनीमा आयोजित एक समारोहबीच म्याग्दीलाई चालु आर्थिक बर्षमा गण्डकी प्रदेशमै पहिलो पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्लाको रुपमा घोषणा गरिएको हो ।
स्वास्थ्यकर्मीहरुले गरेको घरधुरी सर्वेक्षणको क्रममा जिल्लामा १५ महिनामुनीका १ हजार २३५ जना बालबालिकाहरुले नियमित रुपमा खोप लगाईरहेको र अन्य सबै लक्षित उमेरका बालबालिकाहरुले पूरा मात्राको खोप लगाएको भेटिएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा गरिएको प्रदेश स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभयो ।
उहाँका अनुसार, मंगला र रघुगंगा गाउँपालिकामा १६ महिनादेखि २७ महिनासम्मका ३६३ जना र मालिका , अन्नपूर्ण, धवलागिरि गाउँपलिका र बेनी नगरपालिकामा १६ महिनादेखि ५९ महिना सम्मका ३ हजार २८८ जना बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चितता भएको छ । यसअघि जिल्लाका ४५ वटै वडा र छ वटै स्थानीय तहमा बालबालिकाहरुको विवरण संकलन र पूर्ण खोपको पहुँच पु¥याएर पूर्णखोप सुनिश्चिता भएको वडा र पालिका घोषणा गरीएको थियो ।
जिल्ला स्थित जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, स्वास्थ्यकर्मी लगायतले आगामी दिनमा समेत पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा गरिएको प्रदेश स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा बालबालिकाहरुले जन्मेदेखि ५९ महिनासम्मको अवधिमा पाउनुपर्ने सबै प्रकारका खोपहरु पाएका छन् ।
समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री एंव प्रदेश सभा सदस्य रेशमबहादुर जुग्जालीले खोपले विभिन्न रोगहरुबाट जोगाउने भएकाले हरेक बालबालिकामा पुरा मात्राको खोपको पहुँचलाई निरन्तरता कायम राख्नुपर्ने बताउनुभयो । उहाँले दिगो विकास लक्ष्य हासिल गर्न, बालमृत्युदर तथा अपाङ्गताको दरलाई घटाउन खोपले सहयोगी भूमिका खेलेको बताउँदै खोपको पहुँच सुनिश्चित गर्न स्वास्थ्यकर्मी र महिला स्वयंसेविकाहरुको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिनुभयो ।
राष्ट्रिय खोप तालिकाअनुसार नेपालमा बालबालिकाहरुले जन्मेपश्चात् पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगविरुद्ध पाउनुपर्ने विभिन्न १४ प्रकारका खोप लगाउने गर्छन् । घोषणा कार्यक्रममा खोप अभियानमा महत्वपूर्ण योगदान पु¥याएको सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यचौकी, स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश खोप समन्वय समितिको तर्फदेखि म्याग्दी जिल्लालाई पूर्णखोप सुनिश्चितताको घोषणा भएको तथा दिगोपना कायम गरेको प्रमाणपत्र प्रदेश सभा सदस्य जुग्जाली मार्फत जिल्ला खोप समन्वय समितिका प्रमुख एवं जिल्ला समन्वय समितिका कार्यबहाक प्रमुख डिलकुमारी खत्रीलाई प्रदान गरिएको थियो ।
म्याग्दीमा एउटा जिल्लास्तरीय अस्पताल, एउटा आधारभूत अस्पताल, ३९ स्वास्थ्य चौकी, चार सहरी स्वास्थ्य केन्द्र, ३० सामुदायिक स्वास्थ्य एकाइ, १०७ खोप केन्द्र, ६८ गाउँघर क्लिनिक रहेका छन् । म्याग्दीलाई वि.स. २०७१ साल चैत १५ गते नेपालकै छैटौँ पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो ।      
कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति युवराज रोका, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रदेश स्वास्थ्य तालिम केन्द्रका जनस्वास्थ्य प्रशासक प्रविन शर्मा, प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीका खोप अधिकृत एकनारायण लम्साल र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले आगामी दिनमा पनि जिल्लालाई पूर्णखोप सुनिश्चितता र दिगोपना कायम राख्न निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख खत्रीको अध्यक्षता र जिल्ला समन्वय अधिकारी कमलप्रसाद आचार्यले स्वागत गर्नुभएको कार्यक्रम शाखा अधिकृत अमृत सुवेदीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुले सन्देशमूलक गीत र नृत्य प्रस्तुत गरेका थिए ।