दरबाङमा निःशुल्क आँखा शिविरबाट ७ सयबढी लाभान्वित

  • २५ बैशाख २०८२, बिहीबार
  • 191 पटक पढिएको

म्याग्दी , २५ बैशाख । म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा सञ्चालित तीन दिने निःशुल्क आँखा उपचार शिविरबाट ७ सयजना भन्दाबढी लाभान्वित भएका छन् । ग्रामीण भेगमा उपचार गराउन नपाएका आँखा सम्बन्धि समस्या भएका सर्वसाधारण र बिरामीहरुलाई लक्षित गरी सञ्चालन भएको शिविरबाट कुल ७ सय १५ जना लाभान्वित भएका हुन् ।


शिविरमा महिला ४ सय ५९ जना र पुरुष २ सय ५६ जनाले आँखा परीक्षण गराएर आवश्यक उपचार तथा परामर्श सेवा लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले । यसैगरी शिविरमा ५२ जना महिला र २२ जना पुरुषसहित कुल ७४ जनामा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । शिविरमा आँखा परीक्षण गर्न आएका सर्वसाधारण तथा बिरामीहरुलाई निःशुल्क रुपमा औषधी र चस्मा वितरण गरिएको थियो ।

मालिका गाउँपालिका, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, हिमालयन आँखा अस्पताल पोखरा, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दी र आँखा उपचार केन्द्र दरबाङको प्राविधिक सहयोगमा आयोजित शिविरमा रेडक्रस दरबाङ उपशाखाको व्यवस्थापन र अपर म्याग्दी हाईड्रोपावर लिमिटेड र रेड्ली आई फाउण्डेसनले आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

शिविरमा हिमालयन आँखा अस्पतालका डाक्टर हरि विक्रम अधिकारी नेतृत्वको चिकित्सवक तथा स्वास्थ्यकर्मीहरुको टोलीले विरामीहरुको चेकजाँच तथा सल्यक्रियासहितको उपचार सेवा प्रदान गरेका थिए । शिविरमा मालिका गाउँपालिकासहित धवलागिरि, मालिका, बेनी नगरपालिका र पर्वतको मल्लाजबाट समेत सर्वसाधारण, बिरामीहरुले उपचार सेवा लिएको गाउँपालिकाले जनाएको छ ।

शिविरको समापन गर्दै मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले गाउँघरमा उपचार गराउनबाट बञ्चित भएका सर्वसाधारणको लागि शिविर लाभदायि बनेको बताउनुभयो ।

To Top