प्रेस स्वतन्त्रता दिवसः म्याग्दीका पत्रकारलाई दश लाखको दुर्घटना बीमा
- २० बैशाख २०८२, शनिबार
- 27 पटक पढिएको
म्याग्दी २० बैशाख । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि रु १० लाख बराबरको दुर्घटना बीमा गरेको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शाखाले जिल्लामा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरुको दुर्घटना बिमा गरि बिमालेख हस्तान्तरण गरेको हो ।
गत मंसिर २८ गते निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले जिल्लामा पछिल्लो तीन वर्षदेखि क्रियाशील पत्रकारहरूको दुर्घटना बीमा गर्ने निर्णय गरेको थियो । शिखर इन्स्योरेन्स कम्पनीसंगको सहकार्यमा जिल्लामा क्रियाशिल २१ जना पत्रकार तथा सञ्चारकर्मीहरुको रु १० लाख बराबरको दुर्घटना बिमा गरिएको शाखाका सचिब ठाकुर प्रसाद आचार्यले जानकारी दिनुभयो ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, शाखा अध्यक्ष हरिकृष्ण गौतम, संस्थापक अध्यक्ष धनश्याक खड्काले पत्रकारलाई दुर्घटना बिमाको बिमालेख हस्तान्तरण गर्नुभएको थियो ।
पत्रकारहरू कार्यक्षेत्रमा खटिएका बेला वा अन्य पेशागत कार्यका क्रममा दुर्घटनामा परेमा मृत्यु वा पूर्ण अशक्तताका लागि दश लाख रुपैयाँसम्म र घाइते भएमा उपचारका लागि एक लाख रुपैयाँसम्मको लाभ प्रदान गरिने जनाइएको छ ।
यसैबीच मृगौला रोगबाट पीडित म्याग्दीकाली एफएममा कार्यरत सञ्चारकर्मी दिपा बुढाथोकीकी आमा लिला पुनको उपचारका लागि पत्रकार महासंघको आपतकालिन कोष र पत्रकारहरुबाट संकलन भएको रु ३२ हजार ५ सय सहयोग समेत हस्तान्तरण गरिएको छ । महासंघ म्याग्दी शाखाले पत्रकार तथा सञ्चारकर्मी र उनीहरुका घरपरिवारको उपचार र आपतविपतमा सघाउनका लाग आपतकालिन कोष समेत खडा गरेको छ ।
कार्यक्रममा बोल्दै महासंघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष पौडेलले मिडिया बलियो र पत्रकार स्वतन्त्र भए मात्रै पत्रकारिता बलियो बन्ने बताउँदै पत्रकारको सुरक्षामा महासंघ म्याग्दी शाखाले गरेको काम उत्कृष्ट रहेको बताउनुभयो । कार्यक्रममा महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्काले बदलिँदो समय संगै प्रेस स्वतन्त्रता माथि हस्तक्षप हुने स्वरुप पनि फेरिएको चर्चा गर्दै पत्रकारले समाजलाई ध्यानमा राखेर आफुलाई निडर निर्भिक बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल प्रेस चौतारी म्याग्दीका अध्यक्ष प्रताप पौडेल, प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्री, प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्मा, सञ्चारीका समूह म्याग्दीका अध्यक्ष देवि जिसी लगायतले मन्तव्य राख्नुभएको थियो । महासंघ म्याग्दीका उपाध्यक्ष अमित विश्वकर्माको स्वागत र सचिब आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।