अन्नपूर्ण गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा
- २० बैशाख २०८२, शनिबार
- 29 पटक पढिएको
म्याग्दी– ‘पूर्णखोप सुरक्षित भविष्य, स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित म्याग्दीको अन्नपूर्ण गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ । शुक्रवार पालिकाको केन्द्र पोखरेबगरमा आयोजित एक समारोहबीच अन्नपूर्ण गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो ।
बच्चा जन्मेदेखि १५ महिनासम्मका ९९ जना र १६ महिनादेखि ५९ महिनासम्मका ४ सय ३७ जनासहित सबै बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चितासहित गाउँपालिकालाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा गरिएको छ । बालबालिकाहरुले जन्मेदेखि ५९ महिनासम्मको अवधिमा विभिन्न प्रकारका खोपहरु पाएका छन् ।
- राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरु सबैले सम्पूर्ण खोपको मात्रा पुरा गरेको तथा खोप निर्देशिकाअनुसार आवश्यक सबै प्रक्रियाहरु पुरा गरी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले बताउनुभयो । उहाँका अनुसार बालबालिकाहरुले जन्मेपश्चात् पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगविरुद्ध पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेका छन् ।
अन्नपूर्ण गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिकाको रुपमा घोषणा गर्न यसअघि गएको चैत २२ गते ५ नम्बर वडा शिखबाट वडास्तरमा पूर्णखोप सुनिश्चित वडा घोषणा कार्यको सुरुवात गरिएको थियो । पालिकाको सबै घरधुरीमा सर्वेक्षणसहित ५९ महिनासम्मका सबै बालबालिकाहरुको विवरण सङ्कलन गरी उनीहरुलाई पूर्णखोप लगाउनुका साथै पुनः सर्भेक्षण समेत गरिएको थियो । दोवा, भूरुङ–तातापानी, दाना, नारच्याङ, शिख, घार, हिस्तान र राम्चेसहित ८ वटा वडा रहेको अन्नपूर्णमा यी सबै वडालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिसकेपछि पालिकालाई औपचारिक रुपमा पूर्णखोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।
कार्यक्रमको अवसरमा अन्नपूर्ण गाउँपालिकाबाट पूर्णखोप घोषणा सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमलाई सफल बनाउन आ–आफ्नो क्षेत्रमा खटिएका ८ वटा वडाका ८ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र ८ वटा स्वास्थ्यचौकीका ८ जना स्वास्थ्यकर्मी तथा एकजना स्वास्थ्य शाखाको कर्मचारीलाई महत्वपूर्ण सहयोग पु¥याएको भन्दै प्रशंसापत्रसहित सम्मान गरिएको थियो । यसैक्रममा जिल्ला खोप समन्वय समितिको तर्फदेखि अन्नपूर्ण गाउँपालिकालाई पूर्णखोप सुनिश्चितताको घोषणा भएको तथा दिगोपना कायम राख्नको लागि प्रशंसा–पत्र समेत प्रदान गरिएको थियो ।
पूर्णखोप सुनिश्चितता पालिका घोषणा समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय अधिकारी कमलप्रसाद आचार्यले पूर्णखोप कार्यक्रमले अपाङ्गतादर तथा बाल मृत्युदर घटाएर औषत आयु बढाउनमा महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभयो । उहाँले खोप कार्यक्रम नेपाल सरकारको आधारभूत स्वास्थ्य सेवाको रुपमा रहेको बताउँदै पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम प्रभावकारी रहेकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
अन्नपूर्ण गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्ने कार्यमा आ–आफ्नो ठाउँबाट वडास्तरमा खट्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले नेपाल सरकार र नेपालको संविधानले सबै बालबालिकाहरुलाई निःशुल्क रुपमा खोप पाउने अधिकारको व्यवस्था गरेको बताउँदै पूर्णखोप कार्यक्रमले स्वस्थ तथा सक्षम र सबल नागरिक उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले पूर्णखोप पालिका घोषणा गर्ने कार्यलाई आउँदा दिनहरुमा पनि निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो ।
प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले पूर्णखोप कार्यक्रममा नेपाल सरकारको ४० प्रतिशत र दातृ निकायको ६० प्रतिशत लगानी रहेको जानकारी दिनुभयो । उहाँले पूर्णखोप कार्यक्रमले दिगो विकास लक्ष्य हासिल गर्न, बालमृत्युदर तथा अपाङ्गताको दरलाई घटाउन सहयोगी भूमिका खेल्ने बताउँदै खोप कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउन स्वास्थ्यकर्मी र महिला स्वयंसेविकाहरुको महत्वपूर्ण सहयोग रहेको बताउनुभयो ।
अन्नपूर्ण–६ घारका वडा अध्यक्ष रामबहादुर खड्काले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमको प्रतिवेदनवाचन र सञ्चालन तथा गाउँपालिकाको सामाजिक विकास समिति संयोजक ओमप्रसाद फगामीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी, स्वयंसेविका र आमा समूहले नृत्य प्रस्तुत गरेका थिए ।
अन्नपूर्ण गाउँपालिका जिल्लामा पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा हुनेमा पाँचौं पालिका बनेको छ भने यसअघि धवलागिरि, मालिका, मंगला र रघुगंगा गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भैसकेका छन् । अब बेनी नगरपालिका घोषणा भएपश्चात् जिल्लालाई पनि पूर्णखोप सुनिश्चित जिल्लाको रुपमा घोषणा गरिनेछ ।