मुक्तिधाम माविमा पूर्व विद्यार्थीहरुद्धारा अक्षयकोष स्थापना

  • १६ बैशाख २०८२, मंगलवार
  • 1383 पटक पढिएको

म्याग्दी , १६ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माध्यमिक विद्यालयमा पूर्व विद्यार्थीहरुले अक्षयकोष स्थापना गरेका छन् । जिल्लाकै पुरानो विद्यालयको रुपमा रहेको मुक्तिधाम माध्यमिक विद्यालयको ७५ औँ बार्षिक उत्सव तथा हीरक जयन्तीको अवसरमा विद्यालयका पूर्व विद्यार्थीहरुले अक्षयकोष स्थापना गरेका हुन् ।
विद्यालयबाट वि.स. २०६० सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीहरुले रु १ लाख ८१ हजार ६०५ रकमको अक्षयकोष स्थापना गरेका हुन् । सोही समूहका दिवंगत विद्यार्थी गौरब मल्ल र महेन्द्रकुमार श्रेष्ठको स्मृतिमा उनीहरुका साथिहरुले उक्त अक्षयकोष खडा गरेको विद्यालयका प्रधानध्यापक अमरबहादुर केसीले जानकारी दिनुभयो ।
हीरक जयन्ती समारोहमा २०६० सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीहरुको तर्फबाट भगवान कार्की र संगीता कुमारी मल्लले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद सुवेदीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको छ । उक्त अक्षयकोषबाट बार्षिक रुपमा कक्षा ८, १० र १२ मा सर्वोकृष्ट नतिजा ल्याउन विद्यार्थीहरुलाई छात्रावृत्ती प्रदान गरिने जनाइएको छ ।
सोही अवसरमा विद्यालयबाट वि.स. २०४९ सालको एसएलसी व्याचका विद्यार्थीहरुले समेत उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्नका लागि रु १ लाख राशीको अक्षयकोष स्थापना गरेका छन् । हीरक जयन्ती समारोहमा सहभागी हुन आएका उक्त ब्याचका विद्यार्थीहरुले विद्यालयलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।
वि.स. २००६ सालमा राहुघाट मिडिल स्कुलको नाममा स्थापना भएको यस विद्यालयले स्थापना भएको ७५ बर्ष पूरा भएको अवसरमा विविध कार्यक्रम गरी हीरक जयन्ती मनाउन सुरु गरेको छ । कक्षा १२ सम्म अध्यापन हुने मुक्तिधाम माविमा हाल करिब ४०० विद्यार्थी अध्ययनरत रहेका छन् । वि.स. २०७६ देखि कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फ बालि विज्ञान बिषयमा पठनपाठन गराउँदै आएको छ । 

To Top