दुर्घटना न्यूनिकरणको सन्देश फैलाउन बेनीमा ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता
- १३ बैशाख २०८२, शनिबार
- 275 पटक पढिएको
म्याग्दी , १३ बैशाख । सवारी दुर्घटना न्यूनिकरणको सन्देश फैलाउन बेनीमा शनिवार ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी जेसीजको आयोजनामा भएको महिलाहरुबिचको बिस्तारै स्कुटर चलाउने प्रतियोगितामा प्रथम सञ्जु जिसी, द्धितीय सृजना थापा र तृतीय कल्पना ढुंगाना हुन सफल हुनुभएको छ ।
प्रतियोगितामा १२ जना महिलाहरुले सहभागिता जनाएका थिए । तीब्र गतिमा सवारी चलाउँदा दुर्घटना हुने र विस्तार सवारी चलाउने बानिको विकास गराउनका लागि सवारी सचेतना अभिबृद्धि गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्ति क्षेत्रीले जानकारी दिनुभयो ।
त्यसैगरि शनिवार नै आयोजित महिला सटफुट प्रतियोगितामा मुना गर्बुजा प्रथम, कल्पना ढुंगाना द्धितीय र भिमा खड्का तृतीय हुन सफल हुनुभएको छ भने पुरुष सटफुटमा मोहन खड्का प्रथम, जनक सोनाम द्धितीय र बलबहादुर आले तृतीय हुन सफल हुनुभएको छ । महिला सटफुटमा १५ जना र पुरुष सटफुटमा १७ जनाले सहभागिता जनाउनुभएको थियो ।
तीन वटै प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुन सफल व्यक्तिहरुलाई क्रमश नगद रु १ हजार ५ सय, १ हजार र पाँच सय नगद सहित ट्रफिद्धारा पुरस्कृत गरिएको छ । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्री, शाखा अध्यक्ष घर्ति क्षेत्री लगायत शाखाका पूर्व अध्यक्षहरुले पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष खत्रीले म्याग्दी जेसीजले युवाहरुलाई लक्षित गरी आयोजना गर्ने कार्यक्रमहरु अनुकरणीय रहेको बताउँदै समाजमा युवाहरुको भूमिका बढाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजकुमार केसीले सवारी चालकहरुलाई विस्तारै सवारी चलाउनुपर्छ भन्ने सकरात्मक सन्देश फैलाउन प्रतियोगिताले सहयोग पुग्नेमा जोड दिनुभएको थियो ।