शिक्षाप्रेमी करवीर फवाङ्गीको शताब्दियौं जयन्ति मनाइयो
- २४ चैत्र २०८१, सोमबार
- 1 पटक पढिएको
दरबाङ, चैत्र २४ गते । जनप्रिय मा. वि. दरबाङका जग्गादाता, समाजसेवी, शिक्षाप्रेमी क्या. स्व. कर वीर फगामीको शताब्दियौं जयन्ति मनाइएको छ। उक्त अवसरमा लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठको २७ औं कृति ‘कर्मयोगी करवीर र कर्मवीरहरू’ पुस्तक विमोचन गरिएको थियो ।
पुस्तक विमोचन तथा लोकार्पण कार्यक्रमका प्रमुख अतिथि मालिका गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्बुजा, विशिष्ट अतिथि जेष्ठ नागरिक द्वय लवीर फवाङ्गी र दिलमाया ‘डेकमा’ रोकाले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए ।
प्रमुख अतिथि गर्बुजाले क्या. करवीर फवाङ्गी र समाजसेवी व्यक्तित्वको योगदान र भूमिकालाई अभिलेखन गरेकोमा लेखकलाई धन्यवाद ज्ञापन गरेका थिए । आफ्नो प्रमुख आतिथ्यता मन्तव्यमा गर्बुजाले शिक्षाप्रेमी समाजसेवीहरूका बारेमा स्थानीय पाठ्यक्रममा समावेश गरी उनीहरूको योगदानको सम्मान गरिने प्रतिबद्धता जाहेर गरेका थिए ।
जीवनी सङ्ग्रह पुस्तकमा स्व. फवाङ्गी लगायत अन्य बाह्र जना समाजसेवीहरूको जीवनी समाहित छ । पुस्तक फवाङ्गीका पत्नी स्व. नन्दमतिप्रति समर्पित छ । उक्त ऐतिहासिक र महत्त्वपूर्ण कार्य गरेको भन्दै आयोजक फवाङ्गी परिवारद्वारा प्रकाशक सृजना श्रेष्ठलाई नगदसहित कदर-पत्र प्रदान गर्नुका साथै लेखक श्रेष्ठलाई एकलाख पाँच हजार रुपैंया प्रोत्साहन पुरस्कार सहित सम्मान गरिएको थियो ।
फवाङ्गी दम्पति क्या. करवीर र नन्दमतिको तस्बिरमा माल्यार्पण गर्दै प्रकाशक सृजना श्रेष्ठको स्मृतिगानबाट शुरु गरिएको कार्यक्रममा जीवनी समाहित दिवङ्गत सत्पात्रका सुपुत्रजन नरसिंबहादुर खत्री, दुर्गबहादुर खत्री र चन्द्रबहादुर छन्त्यालले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा शिक्षक बालकृष्ण शर्माले क्या. फवाङ्गीको जीवनी वाचन गरेका थिए ।
फवाङ्गी परिवारको आयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता स्व. करवीरका जेठा छोरा शिवनारायण फगामीले गरेका थिए । के. बि. एकेडेमीका प्रिन्सिपल विमल शर्माको सञ्चालन, एकेडेमी कै संस्थापक निर्देशक हिरा पुनको स्वागत मन्तन्य रहेको कार्यक्रममा स्व. फवाङ्जीका छोरी ज्वाइँ खिमबहादुर पूर्जाले धन्यवाद मन्तव्य राखेका थिए ।