माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत्को ७५ प्रतिशत निर्माण कार्य सकियो
- ४ चैत्र २०८१, मंगलवार
- 437 पटक पढिएको
म्याग्दी , ५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको ७५ प्रतिशत निर्माण कार्य सकिएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेडले वडा नम्बर ७ चिमखोला र ८ कुइनेमंगलेको सिमा क्षेत्रमा निर्माण गर्न लागेको २२ दशमलब ५ मेगावाट क्षमताको यस आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
आयोजना निर्माण सुरु गरेको दुई बर्षको अवधिमा बाँध, विद्युतगृह र पाइपलाइनतर्फको करिब ८० देखि ९० प्रतिशत काम सकिएको ठूलोखोला हाइड्रोपावर लिमिटेडका वित्त प्रमुख प्रदिप खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार, आगामी जेठ मसान्त भित्र परिक्षण उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको पूर्वाधार निर्माणको कामलाई गति दिइएको छ ।
आयोजनाको पूर्वाधारतर्फको ठेकेदार कम्पनी देव उर्जा कन्ट्रक्सन प्रालिले दैनिक २ सय जना जनशक्ति परिचालन गरेर काम गरिरहेको छ । आयोजनाको लागि आबश्यक पर्ने मेसिन उपकरण ढुवानीको काम धमाधम भैरहेको र विद्युतगृहमा विद्युतिय मेसिन, उपकरण र सामाग्रीको जडान गर्ने काम समेत भैरहेको वित्त प्रमुख खतिवडाले बताउनुभयो ।
सुरुङ रहित यस आयोजनामा कुल २ हजार ८ सय मिटर पाइपलाइन जडानको काम अन्तिम चरणमा पुगेको छ । सुंगुरथलामाथि रघुगंगा नदीमा निर्माण भएको बाँधबाट पेनस्टक पाइपलाइन हुँदै ल्याउने पानीलाई सेतिनी भ्यालीको फेदीमा रहने विद्युगतगृहमा खसालेर उत्पादन हुने आयोजना प्रमुख लोकबहादुर नायकले जानकारी दिनुभयो । उहाँका अनुसार, उत्पादित विद्युतलाई राष्ट्रिय प्रशारणमा जोड्नका लागि ट्रान्समिसन लाइन निर्माणको काम समेत धमाधम भैरहेको छ ।
कुल ३ अर्ब लागत अनुमान गरिएको यस आयोजनामा प्रवद्र्धकहरुको तर्फबाट ३० प्रतिशत लगानी रहेको छ भने बाँकी ७० प्रतिशत लगानी सिटिजन बैँकको नेतृत्वमा कृषि विकास बैँक र माछापुच्छ«े बैँक लिमिटेडले लगानी गर्ने वित्तिय सम्झौता भएको छ । आयोजनाको इलेक्टोमेकालिकतर्फको ठेक्का लिएको भारतीय बिएफएल कम्पनीले समेत मेसिन उपकरण जडान गर्ने काम गरिरहेको छ ।