म्याग्दीका योजनाहरुमा बजेट अभाव र फापरखेतमा बेलिब्रिज जडान ढिलाईका विषयमा सांसद जुग्जालीद्धारा प्रदेश सरकारको ध्यानाकर्षण

  • ८ फाल्गुन २०८१, बिहीबार
  • 671 पटक पढिएको

बेनी, ८ फागुन । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बजेट अभावका कारण म्याग्दीका सडक आयोजनाहरु निर्माण रोकिएको र बेनी – दरवाङ सडकको फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज जडानका लागि भएको निर्णय कार्यान्वयनको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

गण्डकी प्रदेशसभाको बिहिबार बसेको बैठकको शून्य समयमा पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रि समेत रहनुभएका जुग्जालीले न्युन मात्रामा बजेट बिनियोजन हुँदा म्याग्दीमा प्रदेश सरकारले सञ्चालन गरेका सडक र मोटरेबल पुलका निर्माण ब्यवसायीहरुले काम रोक्न थालेका विषयमा ध्यानाकर्षण गराउनु भएको हो ।

गत वर्ष करिब रु. ६८ करोड लागतमा म्याग्दीमा सात वटा सडक स्तरोन्नति र दुई वटा मोटरेबल पुल निर्माण शुरु भएका थिए । ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीहरुसँग रु. ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको थियो । अर्थ मन्त्रालयले रु. एक अर्ब २० करोड बजेटको स्रोत सुनश्चितता गरेको थियो ।

अर्थ मन्त्रालयले स्रोत सहमति र सुनश्चितता गरेर बहुबर्षीय ठेक्का सम्झौता भइसकेका आयोजनाहरुका लागि विषयगत मन्त्रालयले पर्याप्त बजेट ब्यवस्थापन नगर्दा र टुक्रे योजनामा प्राथमिकता दिँदा गण्डकी प्रदेशभरका आयोजनाहरुमा यस्तो समस्या देखिएको छ ।

गत वर्ष प्रदेश सरकारको मन्त्रिपरिषद्ले संघीय मन्त्रालयसँग समन्वय गरेर बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना फापरखेतको पहिरोको विकल्पमा पखेर–सिम जोड्ने म्याग्दी नदीमाथी बेलिब्रिज जडान गर्ने विषयमा निर्णय गरेपनि हालसम्म कार्यान्वयन नभएकोमा सम्बन्धीत मन्त्रालयको जवाफ माग गर्नुभएको छ ।

फापरखेतको पहिरोका कारण बर्खामा बेनी दरवाङ सडक दैनिकजसो अवरुद्ध हुनुको साथै जोखिम मोलेर आवत जावत गर्नुपर्ने समस्या छ । जुग्जालीले भौतिक मन्त्रालयको नेतृत्व सम्हाल्दा प्रदेश सरकारले फापरखेतको पहिरोको विकल्पमा संघीय सरकारसँग समन्वय गरेर पखेर–सिम जोड्ने बेलिब्रिज जडानका लागि प्रक्रीया अघि बढाएपनि एमाले–काँग्रेस गठबन्धनको नयाँ सरकार गठन भएपछि सुस्ताएको छ ।