कृष्ण गण्डकी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा सहयोगदातालाई सम्मान (तस्बिर/भिडियाे)
- ६ फाल्गुन २०८१, मंगलवार
- 371 पटक पढिएको
म्याग्दी सदरमुकाम बेनीमा रहेको कृष्ण गण्डकी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको छ । मंगलवार केन्द्रमा आयोजित एक समारोहका बिच ज्येष्ठ नागरिक सेवा केन्द्रको व्यवस्थापनको लागि बनाइएको कोषमा आर्थिक सहयोग गर्ने सात जना दाताहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा संविधान सभा सदस्य रेशमबहादुर बानियाँको परिवारले रु ५२ हजार सहयोग प्रदान गर्नुभएको थियो । सो अवसरमा केन्द्रले बानियाँलाई मानार्थ सदस्यता सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो । त्यसैगरी केन्द्रका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठले आफ्नो बुबा आमाको नाममा रु १ लाख ४ हजार सहयोग गर्नुभएकोमा उहाँलाई संरक्षक आजिवन सदस्यता प्रदान गरिएको थियो ।
त्यसैगरि कोषमा रु ५२ हजारका दरले सहयोग गर्नुभएका गिरिजानन्द पौडेल, सुचित्रा प्रधान, बुद्धिबहादुर केसी, प्रमेश भण्डारी र मोहन सिटौलालाई समेत सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रममा संविधान सभा सदस्य गोविन्द पौडेल र केन्द्रका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठले सहयोगदाताहरुलाई सम्मान गर्नुभएको थियो । केन्द्रको विद्यानमा भएको व्यवस्था बमोजिम रु ५२ हजारका दरले सहयोग गर्ने दाताहरुको सम्मानमा सहयोगदाताले इच्छाएका व्यक्ति तथा स्वयम सहयोगदाताको तस्बिर केन्द्रको भवनमा राखिएको छ । यस अघि ६ जना व्यक्तिहरुले रु ५२ हजारका दरले सहयोग गरिसक्नुभएको छ ।
कार्यक्रममा बोल्दै संविधान सभा सदस्य पौडेलले ज्येष्ठ नागरिकहरुलाई सक्रिय बनाउन केन्द्रले खेलेको भूमिकाको प्रसंसा गर्दै ग्रामीण भेगमा समेत ज्येष्ठ नागरिकहरुको लागि दिवा सेवा केन्द्र आबश्यक रहेकोमा जोड दिनुभयो । उहाँले सहयोगदाताहरुको सहयोगले केन्द्रको व्यवस्थापनमा सहजता मिल्नेमा जोड दिनुभयो । कार्यक्रममा सहयोगदाता समेत रहनुभएका संविधान सभा सदस्य बानियाँले आफ्नो दिवंगत आमाको स्मृतिमा ज्येष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग गरेको बताउँदै बृद्धबृद्धाहरुलाई भजनकृर्तन र संगीतसंग जोड्दै एक आपसमा घुलमिल हुने र समय विताउने थलोको रुपमा केन्द्रले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । केन्द्रका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पण्डित निलकण्ठ आचार्य, सुर्यनारायण पुरस्कार प्रतिष्ठानका अध्यक्ष सुबर्णकुमार श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो भने । केन्द्रका सहकोषाध्यक्ष विष्णु गौतमको स्वागत र सचिब बलराम शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।