जलजला गाउँपालिकाका पाँच सय ६७ किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

  • ७ माघ २०८१, सोमबार
  • 19 पटक पढिएको

लामाखेत, ७ माघ । पर्वतको जलजला गाउँपालिकाका पाँच सय ६७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ । लामाखेतमा सोमबार भएको पालिका स्तरीय खोप समन्वय समितिको बैठक सहितको अन्तरक्रिया कार्यक्रममा यही माघ २२ देखि २७ गतेसम्म जलजलामा एचपिभी खोप लगाउन लागिएको जानकारी गराइएको थियो । प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य निरीक्षक प्रकाश गौतमले जलजलाका नौ वटा वडाका कक्षा ६ देखि १० सम्मका पाँच सय ६४ जना छात्रा र विद्यालय नजाने तीन जना गरि १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई यो खोप लगाउने लक्ष्य रहेको जानकारी दिनुभयो । २६ वटा विद्यालयमा खोप केन्द्र बनाएर खोप लगाउन स्वास्थ्यकर्मी र महिला स्वास्थ्यकर्मीलाई परिचालन गरिने भएको छ । विश्वमा वार्षिक साढे पाँच लाख महिला प्रभावित हुने पाठेघरको मुखको क्यान्सरबाट नेपालमा प्रतिवर्ष एक हजार तीन सय १३ जनाले ज्यान गुमाउने गरेका जनस्वास्थ्य निरिक्षक गौतमले बताउनुभयो । एचपिभी खोप लगाएपछि पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिने उहाँले बताउनुभयो । असुरक्षित यौन सम्पर्क पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण भएको जनस्वास्थ्य निरिक्षक गौतमले बताउनुभयो । पर्वतको मोदी, जलजला गाउँपालिका, कुश्मा र फलेवास नगरपालिकामा माघ २२ देखि २७ र पैयु, बिहादी र महाशिला गाउँपालिकामा माघ २८ देखि फागुन २ गतेसम्म एचपिभी खोप अभियान सञ्चालन गर्ने कार्यतालिका बनाइएको छ । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले एचपिभी खोप अभियानलाई सफल बनाउन जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकहरुलाई निर्देशन दिनुभयो । उहाँले पाठेघरको मुखको क्यान्सरका बिरामी पहिचान गर्ने शिविरलाई थप प्रभावकारी बनाउने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले सुरक्षित रुपमा लक्षित किशोरीहरुलाई खोप लगाउन, खोपको विषयमा रहेको नकारात्मक धारणा तथा गलत प्रचार र भ्रम न्युनीकरण गरेर अभियान सफल बनाउनुपर्ने बताउनुभयो । जलजला गाउँपालिका–२ का वडा अध्यक्ष प्रकाश जिसी, शिक्षा अधिकृत यज्ञप्रसाद लमिछाने, जनकल्याण मावि नाग्लीवाङका प्रअ कृष्ण रेग्मी र पत्रकार सन्तोष गौतमले एचपिभी खोप अभियान सफल बनाउन रचनात्मक भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो । जलजला गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख गणेश मल्लले समयमै खोप ढुवानी, प्रचारप्रसार, समन्वय र लक्षित समुदायका सबैलाई खोप लगाउन कार्ययोजना बनाएको बताउनुभयो ।