आठौं म्याग्दी महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता, सबै स्टल बुकिङ

  • १५ पुष २०८१, सोमबार
  • 207 पटक पढिएको

म्याग्दी , १५ पुस । म्याग्दी सरदमुकाम बेनीमा आयोजना हुन लागेको आठौँ म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेलामा स्थानीय उत्पादनको प्रदर्शनी तथा विक्रि वितरणलाई प्राथमिकता दिइने भएको छ । महोत्सव मुल आयोजक म्याग्दी उद्योग बाणिज्य संघले जिल्लामा उत्पादन भएका बस्तु तथा सामाग्रीलाई विक्रि वितरण तथा प्रचार प्रसारका लागि प्रदर्शनीमा राख्न निशुल्क स्टलको व्यवस्था गरेको हो ।
पुस २८ देखि माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवमा वन, कृषि र लघुउद्यम सम्बन्धि स्थानीय उत्पादनका सामाग्रीहरुको व्यापार र प्रदर्शनीका लागि २३ वटा स्टल र हरेक जिल्लाका छ वटै स्थानीय तहलाई एक÷एक वटा स्थल उपलब्ध गराइएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुुविन श्रेष्ठले बताउनुभयो ।

‘‘ महोत्सवबाट स्थानीय उत्पादनको व्यापार प्रवद्र्धन र प्रचार प्रसारमा सघाउन निशुल्क स्टलको व्यवस्था गरेका छौँ, स्थानीय तहहरुले समेत आ–आफ्नो पालिकाभित्रको सम्भावनाको उजागर हुने बस्तु तथा सामाग्रीलाई प्रदर्शनीमा राख्ने तयारी गरेका छन, बढी भन्दा बढी जिल्लाभित्रको उत्पादनको विक्रि तथा प्रचार प्रसार होस भन्ने हामीले चाहेका छौँ’’–अध्यक्ष श्रेष्ठले भन्नुभयो । महोत्सवमा कृषि र पशुजन्य उत्पादनका साथै लघुउद्यम सम्बन्धि स्थानीय उत्पादनका सामाग्री विक्रि र प्रदर्शनीमा राखिने छ ।

महोत्सव सञ्चालन हुने बेनीको खुलामञ्चमा राखिने १३३ वटा व्यावसायिक स्टल, २२ वटा होटलका स्टल समेत बुकिङ्ग भैसकेको संघले जनाएको छ । महोत्सवमा विद्यालयहरुको नवप्रवद्र्धन र विज्ञान प्रदर्शनीका लागि समेत ७ वटा स्टल निशुल्क उपलब्ध गराउने तयारी गरिएको छ । विभिन्न व्यापारिक स्टलका लागि नाम टिपाएका ६० जना बढीलाई ठाउँ अभाब भएको र खुलामञ्च नजिकै रमाईलो मेला सञ्चालन हुने क्षेत्रमा समेत थप स्टल बनाउने तयारी गरिएको संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

महोसत्सवमा म्याग्दीमा जन्मिएर राष्ट्रिय तथा अन्तरािष्ट्रय स्तरमा ख्यातीप्राप्त व्यक्तिहरुलाई सम्मान गरिने छ । महोत्सवमा खुल्ला लोकदोहोरी गीत, गण्डकी प्रदेश स्तरीय अन्तर पालिका पुरुष भलिबल तथा खुल्ला महिला भलिबल, गण्डकी प्रदेश भित्रका वडा स्तरीय बास्केटबल प्रतियोगिता, व्याडमिण्टन लगायतका खेलकुद तथा खुल्ला रत्यौली ,भजन, पुख्र्यौली नाच म्याग्दी आइडल एकल लोकनृत्य लगायतका साँस्कृतिक प्रतियोगितालाई समावेश गरिएको छ ।

१० करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोवार हुने लक्ष्य राखिएको महोत्सवमा रु एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ खर्च भएर रु पाँच लाख १० हजार ८६ बचत गर्ने लक्ष्य लिएको संघका कोषाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव सफल बनाउन विभिन्न ३७ वटा उपसमिति गठन गरेर तयारीलाई तिब्रता दिईएको आयोजकले जनाएको छ ।