समाजवादी गणतन्त्रले जनताका चाहनलाई सम्बोधन गर्छः माओवादी उपमहासचिब पुन

  • १ पुष २०८१, सोमबार
  • 49 पटक पढिएको

म्याग्दी , १ पुस । नेकपा (माओवादी केन्द) का उपमहासचिब बर्षमान पुनले समाजवादी गणतन्त्रले मात्रै जनताका चाहनलाई सम्बोधन गर्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द) म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेता पुनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई अधिकार र सुविधा प्रदान गर्न अहिलेको व्यवस्थालाई समाजवादी गणतन्त्रमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।


मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन भएपनि सक्ता सञ्चालनमा स्थायित्व नहुँदा जनताले चाहे जस्तो विकास र समृद्धि हाँसिल हुन नसकेको उहाँको भनाई छ । ‘‘ अहिले मुलुकमा वर्तमान व्यवस्थाप्रति विभिन्न टिकाटिप्पणी हुने गरेको छ, कतिपयले राजतन्त्र ठिक पनि भन्ने गरेका छन, तर लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, समाजवादी नीति , कार्यक्रम मार्फत जनतालाई सुविधा दिनतर्फ अग्रसर हुुन जरुरी छ’’– नेता पुनले भन्नुभयो ।


उहाँले संविधान संसोधन मार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चुन्ने प्रद्धती आबश्यकता रहेको बताउँदै समानुपातिक, समावेशीता र सामाजिक न्यायलाई प्रभाबकारी बनाएर पछाडि परेका बर्ग, समुदायलाई राज्यको मुलधारमा ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो । पूर्वमन्त्री समेत रहनुभएका नेता पुनले वर्तमान सरकारले जनताको अपेक्षा सम्वोधन गर्न नसकेको बताउँदै माओवादीले मात्रै मुलुकमा निकास तथा देशमा विकास र समृद्धि दिन सक्ने ठोकुवा गर्नुभयो ।

‘‘ वर्तमान सरकारले केहि व्यक्ति र घरनालाई धनी बनाउने काम गरिरहेको छ, जनताको जीवनस्तर सुधार र राष्ट्रिय पुँजीको निर्माण गर्नुपर्छ भन्ने हाम्रो जोड रहेको छ, प्रतिस्पर्धी पुँजीको विकासले मात्रै मुलुकमा समृद्धि हाँसिल गर्न सकिन्छ’’ नेता पुनले भन्नुभयो । सुशासनमा वर्तमान सरकारले कुनै सुधार गर्न नसकेको बताउँदै उहाँले देशमा विकल्प दिने शक्ति माआवादी नै रहेको बताउनुभयो । उहाँले हालै सम्पन्न उपनिर्वाचनले समेत दुई ठुला दलहरुप्रति जनताको भरोसा घटेको र माओवादीप्रति बढ्दो देखिएकाले आगामी २०८४ सालको निर्वाचनमा एक्ले चुनाब लड्ने गरी तयारीमा जुट्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।