युके र अष्ट्रेलियामा रहेका मल्कबाङबासीले गरे विद्यार्थी खेलाडीहरुलाई नगद सहित पुरस्कृत
- २८ मंसिर २०८१, शुक्रबार
- 715 पटक पढिएको
म्याग्दी, २८ मङ्सिर । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा रहेको जनजागृति माध्यमिक विद्यालयबाट सहभागी भएर पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक बिजेता र सहभागि खेलाडीहरुलाई नगद सहित पुरस्कृत गरिएको छ ।
धवलागिरि गाउँपालिका–५ नम्बर वडामा जन्मिएर हाल अष्ट्रेलिया र बेलायतमा रहनुभएका स्थानीयबासीको सहयोगमा गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडी तथा सहभागी खेलाडीहरुलाई नगद सहित सम्मान र पुरस्कृत गरिएको हो ।
अष्ट्रेलियामा रहनुभएका मल्कबाङ र मलम्पारका २६ जना सहयोगदाताहरुले छात्रा भलिबलमा स्वर्ण पदक विजेता ७ जना खेलाडीहरुलाई जनही नगद रु ५ हजार पाँच सयका दरले नगद पुरस्कार प्रदान गर्नुभएको हो । त्यसैगरि शिल्भर पदक विजेता २ जना खेलाडीहरुलाई जनही नगद रु तीन हजार पाँच सय र प्रतियोगिताका विभिन्न विद्यामा सहभागी भएका १० जना अन्य विद्यार्थीहरुलाई जनही नगद रु १ हजारका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ भने खेल प्रशिक्षकलाई नगद रु तीन हजार पाँच सय नगद पुरस्कार प्रदान गरिएको छ ।
अष्ट्रेलियामा रहनुभएका धन छन्त्यालको नेतृत्वमा सहयोग संकलन गरिएको थियो । विद्यालयलाई अष्ट्रेलियाबाट नगद पुरस्कार बापतको रु ५९ हजारका साथै साउण्ड सिस्टम, भलिबल, ज्याबलिङ थ्रो भाला, भलिबल जाली, ब्याडमिन्टन लगायतका सामाग्री समेत विद्यालयलाई सहयोग गरिएको छ ।
मल्कबाङ समाज युकेले प्रतियोगितामा पदक बिजेता खेलाडी , खेल प्रशिक्षक र व्यवस्थापक शिक्षकलाई समेत गरि १३ जनालाई सम्मानपत्रद्धारा सम्मान गरेको छ । त्यसैगरि छात्रा भलिबलतर्फ उत्कृष्ट खेलाडी बन्न सफल रेजिना छन्त्याललाई नगद रु ५ हजार १ सय नगद पुरस्कार प्रदान गरिएको छ ।
मल्कबाङ समाज युकेले प्रतियोगितामा पदक बिजेता खेलाडी , खेल प्रशिक्षक र व्यवस्थापक शिक्षकद्धय तेजप्रसाद शर्मा र कल्पना सुवेदी समेत गरि १३ जनालाई सम्मानपत्रद्धारा सम्मान गरेको छ । त्यसैगरि छात्रा भलिबलतर्फ उत्कृष्ट खेलाडी बन्न सफल रेजिना छन्त्याललाई नगद रु ५ हजार १ सय नगद पुरस्कार प्रदान गरिएको छ ।
मल्कबाङ समाज युकेले उत्कृष्ट खेलाडी पुरस्कार र कार्यक्रम व्यवस्थापन खर्च सहित विद्यालयलाई नगद रु ५० हजार १ सय सहयोग गरेको छ भने १३ जनालाई सम्मानपत्रद्धारा सम्मान समेत गरेको मल्कबाङ समाज युेकेका अध्यक्ष शेर छन्त्यालले बताउनुभयो । मल्कबाङ समाज युकेले यस अघि पनि विद्यालयमा पुरस्कार सहयोग गर्दै आएको छ भने जनजागृति माविबाट एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रदान गरिने मोतिलाल पुरस्कारको लागि मोतिलाल अक्षयकोष समेत खडा गरेको छ ।
छात्रा भलिबलतर्फ कृति छन्त्याल, शिल्पा लाम्गरे, रेजिना छन्त्याल, सरिता छन्त्याल, सम्झना छन्त्याल, सर्मिला रोका र निकिता छन्त्यालको टिम पालिकामा प्रथम भएको थियो भने ३ हजार मिटर दौडमा निदेश शिर्पाली र ज्याबलिङ थ्रोतर्फ बिमल रसाईलीले सिल्वर पदक प्राप्त गरेका थिए ।
कार्यक्रममा छन्त्याल युवा समाज पोखराका पूर्व अध्यक्ष कुशल छन्त्यालले मल्कबाङ समाज युके र अष्ट्रेलियामा रहेका मल्कबाङ, मलम्पारबासीबाट प्राप्त सहयोग रकम र सामाग्री विद्यालयका प्रधानध्यापक सतेन्द्रकुमार यादब र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्यालललाई हस्तान्तरण गर्नुभएको थियो भने गाउँपालिकाका उपाध्यक्ष रेशम पुन, वडा अध्यक्ष अमर छन्त्याल, गाउँपालिकाका शिक्षा शाखा प्रमुख खेमराज सुवेदी, प्रअ यादब, सहायक प्रअ तेज प्रसाद शर्मा, विद्यालय व्यवस्थापन समितिका सदस्य भिमप्रसाद छन्त्याल, शिक्षक अभिभावक संघका अध्यक्ष जगमान विक लगायतले विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सम्मान गर्नुभएको थियो ।
सो अवसरमा गाउँपालिका र संगम म्याग्दीको आयोजनामा अभिभावकसंग अन्तरक्रिया समेत गरिएको छ । कार्यक्रममा सहभागीहरुले विद्यालयमा रहेका समस्याहरुको उजागर गर्नुका साथै पालिका र सरोकारवाला निकायले गर्नुपर्ने दायित्वका बारेमा ध्यानकर्षण गराएका थिए ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पुनले दुर्गम ठाउँमा रहेको जनजागृति माविको भौतिक, शैक्षिक र खेलकुद क्षेत्रमा भएको उपलब्धि सकरात्मक रहेको बताउँदै विद्यालयमा रहेका समस्याहरुको समाधानमा पालिकाले उचित प्राथमिकता दिने बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक विकासमा प्रवासी मल्कबाङबासीले गर्दै आएको सहयोग र सदभाब प्रसंसनीय रहेको बताउँदै अभिभावक, शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिको एकताबद्ध पहलले मात्रै विद्यालयको चौतर्फि विकास हुनेमा जोड दिनुभयो । कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुवेदीले विद्यालयमा रहेका समस्याहरुको पहिचान गरि शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले अभिभावकसंग अन्तक्रिया कार्यक्रम अघि बढाएको बताउँदै समस्याको पहिचान र समाधानबाटै शैक्षिक विकास हुनेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष अमर छन्त्याल, छन्त्याल युवा समाज पोखराका पूर्व अध्यक्ष कुशल छन्त्याल, विद्यालयका प्रअ सतेन्द्र कुमार यादब, विद्यालयका सहायक प्रअ तेजप्रसाद शर्मा लगायतले विद्यालयको शैक्षिक विकासको अवस्था, समुदाय र प्रवासीहरुले गरेको योगदान र अभिभावकहरुले खेल्नुपर्ने भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्यालको अध्यक्षता, शिक्षक शान्ति गुरुङको स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा शिक्षक मनसा काफ्लेले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा शिक्षक र विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए भने अभिभावकसंग अन्तरक्रिया कार्यक्रममा संगम म्याग्दीका कार्यक्रम अधिकृत विश्वनाथ आचार्यले सहजीकरण गर्नुभएको थियो ।