पाखापानीमा पशु स्वास्थ्य शिविरबाट तीन हजार २५० पशुका लागि औषधी वितरण
- २४ मंसिर २०८१, सोमबार
- 129 पटक पढिएको
म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा तीन हजार २५० पशुपंक्षिको लागि औषधी वितरण गरिएको छ । रघुगंगा गाउँपालिका र नेपाल रेडक्रस सोसाईटीको जीविकोपार्जन प्रबद्र्धन कार्यक्रमबाट सोमबार आयोजित पशु स्वास्थ्य शिविरमा घरगोठमा रहेका पशुपंक्षिमा देखिएका लक्षण र समस्याका आधारमा निःशुल्क औषधि वितरण गरिएको हो ।
शिविरमा २ हजार भेडाबाख्रा, १ हजार कखुरा र २५० गाई, भैँसी र गोरुका लागि औषधि वितरण गरिएको रघुगंगा गाउँपालिकाका पशु विकास अधिकृत पुष्पराज अधिकारीले जानकारी दिनुभयो । शिविरमा पशु विकास अधिकृत पराजुली, पशु प्राविधिक बिजय खड्का, सन्दिप दर्जी र स्तुती पौडेल लगायतले पशु पंक्षिको रोगको लक्षणको आधारमा जुका, माटे, लुतो, किर्ना, जुर्मा लगायतको औषधीका साथै विभिन्न भिटामिनहरु समेत वितरण गरिएको छ ।
शिविरको सुभारम्भ गर्दै रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले शिविरले पशुपालक कृषकहरुलाई राहत दिएको बताउनुभयो । उहाँले घरदैलोमा निःशुल्क पशु स्वास्थ्य सेवाले कृषकहरुलाई समय र खर्चको बचत भएको बताउनुभयो । कार्यक्रममा नेपला रेडक्रस सोसाईटी म्याग्दी शाखाका सभापति अमर बानियाँले घरपालुवा र घुम्ती गोठ राखेर पशुपालन गर्ने कृषकहरुको सुविधाका लागि शिविर सञ्चालन गरिएको बताउनुभयो ।
आइरीस रेडक्रसको साझेदारीमा नेपाल रेडक्रस सोसाईटी म्याग्दीले रघुगंगा गाउँपालिकाका विभिन्न वडाहरुमा सामुदायिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेको छ । यस कार्यक्रम मार्फत स्थानीयबासीको आर्यआर्जन सुधार र जीविकोपार्जन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालनमा छन् ।