बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित
- २४ मंसिर २०८१, सोमबार
- 265 पटक पढिएको
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ । पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताए । फल टिप्ने बेलामा दिनभरि बाँदर धपाएर बस्नुपर्ने स्थानीयको दैनिकीजस्तै बनेको उनको भनाइ छ ।
“अहिले बाँदरबाट सुन्तला जोगाउन मुस्किल परेको छ, हरेक वर्ष बाँदरको हुल बढेका छन्, किसानको बारी बाँदर आतङ्कले रित्तिन थालेका छन्, बाँदर नियन्त्रणतर्फ सरकारले ध्यान दिनुपर्ने भएको छ”, उनल भने ।
जङ्गलबाट हुलका हुल बाँदर बगैँचामा पसेर सुन्तला सखाप पार्न थालेपछि स्थानीय चिन्तित बनेका हुन् । “फलफूल र अन्नबाली सबै बाँदरले नष्ट गर्न थालेको छ, दुःख गरेर लगाएको खेती सबैमा क्षति हुन थालेको छ, बाँदरको आतङ्क नियन्त्रण गर्न खोरपासो बनाएर राष्ट्रिय निकुञ्जमा पठाउनुको विकल्प छैन”, उनले भने । सुन्तला बगैँचामा बाँदरले निकै दुःख दिएपछि स्थानीयले वडा र पालिकाको समेत ध्यानाकर्षण गराएका छन् ।
अन्नपूर्ण गाउँपालिका–६ घारका वडाध्यक्ष रामबहादुर खड्काले बाँदर आतङ्क पछिल्लो समय किसानका लागि लागि ठूलो समस्या बनेर आएको बताए ।
घारको बिरौटा, झरपाट, बैँसरी, हल्लेखर्क, लुलाए, कुरमुनीलगायतका बस्तीमा व्यावसायिक रुपमा सुन्तलाखेती हुँदै आएको छ । करिब १५ हजारभन्दा बढी सुन्तलाका बोट लगाइएको घारमा वार्षिक करिब रु ४० देखि ५० लाख बराबरको सुन्तला बिक्री हुने गरेको छ ।