बगरफाँट–भकिम्ली सडक ट्याक खुलेको १७ बर्षपछि स्तरोन्नति सुरु
- १५ मंसिर २०८१, शनिबार
- 3 पटक पढिएको
म्याग्दी , १५ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीसंग जोडिएको हाँडेभिर–बगरफाँट–भकिम्ली सडकको मार्ग खुलेको करिब दुई दशकपछि सडक स्तरोन्नति गर्न सुरु भएको छ । वि.स. २०६४ सालमा कृषि सडकको रुपमा बेनीबजारदेखि बेनी नगरपालिका वडा नम्बर २ को हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली सडकको ट्याक खुलेको थियो ।
ट्याक खुलेको करिब १७ बर्षपछि बगरफाँटदेखि दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकलाई स्तरोन्नति गर्न थालिएको हो । बगरफाँटदेखि दुधेखोलासम्मको करिब साढे २ किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नालि निर्माण गरि ग्राभेल सहित स्तरोन्नति गर्न थालिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । हाँडेभिरबाट बगरफाँटको बुद्ध एकेडेमीसम्मको सडक गत बर्ष नै कालोपत्र भइसकेको छ।
गत बर्ष गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय मार्फत बहुबर्षिय योजनाको रुपमा छनौट भएको यस योजनामा पूर्वाधार विकास कार्यालयले पाँच करोड ५९ लाखमा सडक स्तरोन्नतीको लागि माछापुच्छे« हिमालयन जेभीसंग ठेक्का सम्झौता भएको थियो । यस सडक स्तरोन्नतीको लागि रु १० करोड लागत अनुमान गरी ठेक्का प्रतिस्पर्धा मार्फत योजनालाई कार्यान्वयन गराईएको हो ।
यस योजनाबाट बगरफाँदेखि दुधेखोलासम्मको करिब साढे २ किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ग्राभेल सहित स्तरोन्नति गरिने र दुधेखोलादेखि भकिम्ली जोड्ने सडकको विभिन्न खण्डमा ३९० मिटर सडक ढलान गरेर स्तरोन्नती गरिने पूर्वाधार विकास कार्यालय म्याग्दीका इञ्जिनियर सञ्जय सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार, चालु आर्थिक बर्षमा प्रदेश सरकारबाट यस योजनाको लागि रु १ करोड ६० लाख मात्रै बजेट प्राप्त भएको छ । ‘‘ निर्माण व्यवसायि कार्यक्षेत्रमा परिचालन भैसकेको छ, धमाधम सडक स्तरोन्नती गरे अहिले आएको बजेटले निर्माण व्यवसायिलाई काम गरेको भुक्तानी दिन नसक्ने अवस्था छ, हामीले थप बजेटका लागि लेखेर पठाइसकेका छौँ’’– उहाँले भन्नुभयो । गत जेठमा ठेक्का सम्झौता भएको यस योजनाको निर्माण अवधि १८ महिना मात्रै रहेको छ ।
करिब दुई महिनादेखि कार्यक्षेत्रमा परिचालन भएका निर्माण व्यवसायिले सडक फराकिलो बनाउने, मेसिनरी पर्खाल र ग्याविन जाली लगाउने कामलाई तिब्रता दिएका छन् । अहिलेसम्म करिब १० प्रतिशत काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि निरोज भण्डारीले बताउनुभयो । अहिले कार्यक्षेत्रमा ५० जना बढी मजदुर संगै आबश्यक मात्रामा निर्माण सामाग्री र मेसिन उपकरणहरु परिचालन गरेको र निर्माण कार्यलाई दुत्र गतिमा निर्धारित समय अगाबै निर्माण कार्यलाई सम्पन्न गर्ने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो । मुख्य बस्तीमा सडक विस्तारको क्रममा देखिएको जग्गा विवाद स्थानीयले सहमतीमै टुंगो लगाएसंगै निर्माण व्यवसायिले पहिलो चरणमा सडक पराकिलो बनाउने कामलाई जोड दिएका छन् । सडकको मार्ग खुलेको करिब दुई दशकपछि स्तरोन्नती हुन लागेको सडक योजनालाई गुणस्तरीय बनाउन र स्थानीय स्तरमा सहजीकरण गर्न स्थानीयबासीले सहजीकरण समिति गठन गरेर नियमित अनुगमन गर्न थालेका छन् ।
सहजीकरण समितिका संयोजक चन्द्रबहादुर घिमिरेले सडक विस्तारको क्रममा देखिएको जग्गा सम्बन्धी विवाद समाधान गरिएको र निर्माण व्यवसायिले गर्ने काममा नीगरानी बढाइएको बताउनुभयो । ‘‘ जिल्ला सदरमुकामसंग जोडिएको सडक ओझेलमा परेको थियो, अहिले स्तरोन्नतीको लागि बजेट आएको छ, हामीले यो योजनालाई सफल बनाउँदै कालोपत्रे नै गर्नका लागि थप बजेटको लागि सम्बन्धीत निकायमा ध्यानकर्षण गराउने योजना बनाएका छौँ’’– उहाँले भन्नुभयो ।
हाँडेभिरदेखि बगरफाँट–दुधेखोला–हल्लेगौडा,मुसुङडोले हुँदै बागलुङको ताराखोला जोड्ने यो सडकमार्ग अन्तरगत दुधेखोलादेखि बास्कुना–थामडाँडा–अर्जेखोला हुँदै मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ बरंजालाई समेत यो सडकले जोडेको छ । गण्डकी प्रदेश सरकारले चालु आवमा पठाएको बजेट योजनाको लागि प्रयाप्त नभएकाले थप बजेट व्यवस्थापनको लागि प्रदेश सरकारको ध्यानकर्षण गराउने गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो । रासस