बेनीमा विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता सञ्चालन

  • १२ मंसिर २०८१, बुधबार
  • 435 पटक पढिएको

म्याग्दी , १२ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा छात्रा फुटवल प्रतियोगिता सुरु भएको छ । छात्राहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने उदेश्यले लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो । मङ्सिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न १० विद्यालयले सहभागिता जनाएको क्लब अध्यक्ष सोहन श्रेष्ठले जानकारी दिनुभयो । 
छात्रा फुटवल खेलाडी उत्पादन गर्ने उदेश्यका साथ क्लबले आयोजना गरेको प्रथम लायन्स कप अन्तर माध्यमिक विद्यालय(कक्षा १० सम्म) छात्रा फुटवल प्रतियोगितालाई रनीङ शिल्डको रुपमा हरेक बर्ष आयोजना गरिने उहाँको भनाई छ । प्रतियोगिताको आज बेनीमा एक समारोहका बिच उद्घाटन गरिएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले विद्यार्थीहरुमा अध्ययन संगसंगै खेल प्रतिभाको समेत विकास हुनुपर्ने बताउँदै महिला फुटवल खेलाडी उत्पादन गर्न प्रतियोगिताले सहयोग पुगने बताउनुभयो ।
कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति लामिछाने, प्रबक्ता रमेशकुमार श्रेष्ठ, म्याग्दी फुटबल संघका अध्यक्ष कुमार बानियाँले छात्राहरूको फुटबल प्रतियोगिताले नयाँ खेलाडीको पहिचान गर्न सहयोग पुग्नेमा जोड दिनुभयो। प्रतियोगिताको विजेताले ३५ हजार, उपविजेता २० हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र र अनु्शासित टिमलाई ५ हजार रुपैयाँ नगद प्रदान गरिने छ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र राइजिङ प्लेयरलाई नगद सहित पुरस्कृत गरिने प्रथम उपाध्यक्ष निर्मल खत्रीले जानकारी दिनुभयो । प्रतियोगिताको मुख्य प्रायोजन दि रियल म्याग्दी (अस्टे«लीया) ले गरेको छ ।