सवै प्रदेशमा मुटुरोगको विशिष्टिकृत अस्पताल संचालन गर्नेछौं स्वास्थ्य- मन्त्री पौडेल

  • ४ मंसिर २०८१, मंगलवार
  • 129 पटक पढिएको

नारायण रिजाल
बागलुङ मंसिर ४ । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सात वटै प्रदेशमा मुटुरोगको उपचारका लागि विशिष्टीकृत अस्पतालको संचालन गर्ने जनाएका छन ।
मंगलबार बागलुङको काठेखोला गाउँपालिका वडा नं. ६ मा नवनिर्मित विहुँकोट आधारभुत अस्पतालको उद्घाटन गर्दै उनले अब सातवटै प्रदेशमा मुटु र क्याम्सर रोगको विशिष्टिकृत अस्पताल संचालन गरिने बताएका हुन । उनले अहिले प्रत्येक प्रदेशमा क्यान्सरको एक एक वटा अस्पताल संचालनको प्रक्रियामा रहेको र आउँदा दिनमा मुटुरोगको पनि उपचार हुने अस्पताल संचालनमा ल्याईने बताए ।
पौडेलले मृगौलाको प्रत्यारोपणका लागि पनि हाल सम्म दुई प्रदेशमा विशिष्टिगत अस्पताल संचालनमा ल्याई सकिएको जानकारी दिए । पौडेलले स्वास्थ्य क्षेत्रमा धेरै कुरा गर्ने मन भएता पनि श्रोत सुनिश्चित नभएका कारण अहिलेको अवस्थामा धेरै खर्च लाग्ने भन्दा पनि कम खर्च लाग्ने कामलाई प्राथमिकता दिएको बताए । स्वास्थ्य क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यक छ, मन त छ तर अहिलेको अवस्थामा श्रोत छैन, मन्त्री पौडेलले भने श्रोत कम हुँदा जति खर्च नलाग्ने कामलाई अहिले प्राथमिकतामा दिएका छौं आगामी दिनमा थप कामलाई अगाडी बढाउने छौं ।,
पौडेलले पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसको पढाई भएको र यहाँबाट अब नयाँ जनशक्ति उत्पादन भएपश्चात देशभरी नै डाक्टर स्वास्थ्यकर्मीको अभाव हुन नदिने बताए ।
पौडेलले मंसिर १ गते देखी १४ वर्ष मुनिका बालबालिकालाई क्यान्सरको रोग निःशुल्क उपचारको व्यवस्था गरेको जानकरी गराए ।
उनले स्वास्थ्य क्षेत्रमा नयाँ संरचना निर्माण गर्नुभन्दा पहिले बनेका संरचनालाई थप व्यवस्थापन गरेर संचालन गर्न जरुरी रहेको बताए । पौडेलले निजी अस्पताल सँग सहकार्य गरेर जनतालाई कसरी सर्भसुलभ स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ त्यसमा पनि मन्त्रालयले जोड दिने बताए ।
पौडेलले स्वास्थ्य क्षेत्रको पालिका तहबाटै प्रदेश हुँदै संघ सम्म केही नितिगत सुधार गर्न आवश्यक रहेको भन्दै तिनै वटै तहसँगको समन्वयमा यस क्षेत्रमा नितिगत सुधार ल्याउन जरुरी रहेको बताए । उनले औषधी तथा उपकरण खरिद प्रक्रियामा सवै सरकारी अस्पतालले समयमा नै सम्पन्न गरेर जनतालाई सहज सेवा प्रदान गर्न आग्रह गरे । ‘जिल्ला जिल्ला तहमा रहेका अस्पतालबाट सामान्य स्वास्थ्य उपचार सहज रुपमा प्रदान गर्नुपर्ने अहिलेको आवश्यकता हो पौडेलले भने, यसमा सवै तहको सहयोग पनि चाहिन्छ, स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा सवैले ध्यान दिन पनि जरुरी छ, हामी सवै मिलौं भने जनतालाई सहज तरिकाले स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ । सेवा दिनलाई कुनै पनि कसुर बाँकी नराखौं ।’ नेपालको स्वास्थ्य सेवामा आम नागरिकले सहजता अनुभव हुने कसरी बनाउन सकिन्छ त्यतातर्फ आफु लाग्ने र सबैको क्षमताले भ्याउने गरी काम गर्नुपर्ने बताए । मन्त्री पौडेलले मंगलबार नै बागलुङको गलकोटमा रहेको नगरअस्पतालमा आकस्मिक प्रसुती तथा नवजात शिशु सेवा सिईओएनसीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।