गण्डकी प्रेदेश सभा सदस्य विमला गौचनको निधन

  • २९ कार्तिक २०८१, बिहीबार
  • 469 पटक पढिएको

म्याग्दी, २९ कात्तिक । नेपाली कांग्रेसकी नेतृ तथा गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ । ६३ बर्षिय गौचनको बुधबार राति काठमाडौंमा निधन भएको हो । अस्वस्थ भएपछि उहाँलाई राति ग्राण्डी अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । सांसद् गौचनको हृदयघातका कारण निधन भएको हुन सक्ने बताइएको छ।
केही दिन अघि उहाँ डेंगुबाट संक्रमित हुनुभएको थियो । त्यसअघि दामोदर कुण्डमा लेक लागेर अलपत्र परेपछि नेपाली सेनाले गौचनको उद्धार गरिएको थियो । म्याग्दीकी गौचन गण्डकी प्रदेश सभामा नेपाली नेपाली कांग्रेसबाट समानुपातिक सांसद् हुनुहुन्छ । नेपालको लोकतान्त्रिक र महिला आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएकी गौचन राजनीति संगसंगै पर्यटन व्यवसायमा समेत आबद्ध हुनुहुन्थ्यो । गौचन नेपाल महिला संघ म्याग्दीको पूर्व अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँले म्याग्दीमा एकल महिलाहरुलाई संगठीत बनाएर सामाजिक क्षेत्रमा सक्रिय बनाउने अभियानको समेत नेतृत्व गर्नुभएको थियो ।