कुकुर तिहार बिशेष : कुकुरको भरमा घुम्ती गोठको पशुपालन

  • १५ कार्तिक २०८१, बिहीबार
  • 203 पटक पढिएको

रघुगंगा गाउँपालिका–८ च्याप्टेडेम्मर खर्कमा घुम्ती गोठ राखेर भेडापालन गर्नुभएका हिमबहादुर छन्त्यालको गोठको सुरक्षामा ५ वटा भोटे कुकुरले गर्ने गरेका छन् । विगत आठ बर्षदेखि भेडापालन गर्दै आउनुभएका छन्त्यालले गोठ र गोठमा रहेका भेडाबाख्राको सुरक्षामा दुई जना गोठालासंगै कुकुरलाई समेत राख्ने गर्नुभएको छ ।
सहरी क्षेत्रमा सोखको लागि कुकुर पाल्ने प्रचलन रहेपनि गाउँघरमा भने कुकुरलाई बफादार रक्षक जनावरको रुपमा पाल्ने गरिन्छ । घुम्ती गोठमा वन जंगल डुलाएर गरिने पशुपालनमा कुकुरले सुरक्षा गार्डको भूमिका निभाउने गरेको भेडापालक कृषक छन्त्यालले बताउनुभयो । ‘‘ चरनक्षेत्र र गोठमा जंगली हिंसक जनावरको आक्रमणको जोखिम रहन्छ, कुकुरहरुले चरनक्षेत्रदेखि गोठसम्म नै भेडाबाख्राको पिछा गर्छन र जंगली जनावरको आक्रमण हुनबाट जोगाउँछन’’– छन्त्यालले भन्नुभयो ।
बेशीदेखि लेकका बुकीहरुमा गोठ सारेर गरिने भेडाबाख्रा र गाईभैँसीको घुम्ती गोठमा ‘भोटे कुकुर’ पाल्ने गरिन्छ । अनकन्टार जंगलहरु र बुकीहरुमा गोठ राख्नुपर्ने भएकाले गोठमा गोठालाको भरोसा कुकुरमै रहने भेडापालक कृषक रघुगंगा गाउँपालिका–६ पाखापानीका भेडापालक कृषक बिरबहादुर मगरले बताउनुभयो । उहाँले कुकुर गोठको सुरक्षा गार्ड र गोठालाको भरोसायोग्य सारथी बन्ने गरेको बताउनुभयो ।
अनकन्टार जंगल, पहाड र हिमालका बुकीसम्म नै घुम्ती रुपमा गरिने भेडापालन र गाईभैँसीका गोठमा कुकुरलाई मुख्य हेरालुको रुपमा पाल्ने गरिन्छ । गोठमा रहेका पशुपंक्षिलाई बाघ, चितुवा, भालु, स्याल, ब्वाँसो लगायतका हिंसक जनावरको आक्रमण रोक्न हेरालुको सहयोगीको रुपमा कुकुरले साथ दिने गरेको मगरले बताउनुभयो ।
जंगली जनावरको आक्रमणमा प्रतिकार गर्न र पशुधनको रक्षा गर्न कुकुरले ठूलो सहयोग पुग्ने गरेको गोठालाहरु बताउँछन् । अधिकाँश समय जंगलमै विताउनुपर्ने भएकाले कुकुरको सुन्ने र सुँधेर पत्ता लगाउन सक्ने शक्ति बढी हुने भएकाले गोठमा गोठाला र गोठका जनावरको सुरक्षामा कुकुरलाई द्धारपालकको रुपमा लिने गरिन्छ ।
गोठका सारथि बनेका कुकुरहरुलाई जंगली जनावरको आक्रमणबाट बचाउन कुकुरको घाँटीमा काँडेमाला लगाईदिने गरिन्छ । घरपालुवा गुनिलो र आज्ञापालक तथा सुरक्षामा भरपर्दो जनावरको रुपमा चिनिने कुकुरको महत्वलाई तिहारको अवसरमा गरिने कुकुर तिहारको पुजाआराधानाले थप बढाउने गरेको छ । यमपञ्चकको दोस्रो दिन आज कुकुरलाई मीठामीठा परिकार खान दिनुका साथै फुल माला लगाएर पूजा गरिएको छ ।