ओमकुमारी शान्ति कोषबाट विपन्न नागरिकको उपचारमा साढे २ करोड बढी सहयोग

  • ११ कार्तिक २०८१, आईतवार
  • 1 पटक पढिएको

म्याग्दी , ११ कात्तिक । म्याग्दीमा परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषले विपन्न नागरिकको उपचारमा साढे २ करोड बढी सहयोग गरेको छ । वि.स. २०७१ सालमा स्थापना भएको संस्थाले एक दशक अवधिमा ३४८ जना विपन्न नागरिकको उपचारमा रु दुई करोड ५९ लाख ५० हजार २५९ आर्थिक सहयोग गरेको संस्थाका निवर्तमान अध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिनुभयो ।

शनिवार संस्थाको दशौँ बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनको उद्घाटन समारोहमा निवर्तमान अध्यक्ष गौतमले विभिन्न रोग लागेर उपचार गराउन आर्थिक अभाबको सामना गरेका सर्वसाधारणको उपचारमा संस्थाले रोगको अवस्था हेरेर रु पाँच हजारदेखि १४ लाख सम्म सहयोग गरेको बताउनुभयो । दुई बर्षको अवधिमा मात्रै संस्थाले ६९ जनाको उपचारमा सघाएको छ ।

यस अवधिमा संस्थाको अक्षयकोषको ब्याज रकमबाट ४ लाख ६८ हजार र सहयोग संकलनबाट ६३ हजार १९५ सहयोग गरिएको कोषले जनाएको छ । कोषमा ८९१ जना आजिवन सदस्य, ८ वटा संस्थागत संरक्षक सदस्य र ३४ जना व्यक्तिगत संरक्षक सदस्य रहनुभएको कोषका कार्यालय सचिब डकबहादुर रोकाले जानकारी दिनुभयो ।
उहाँका अनुसार, आर्थिक रुपमा विपन्न नागरिको उपचारमा सघाउन स्थापना भएको यस संस्थाको रु १ करोड ३३ लाख ५९ हजार ८६४ अक्षयकोषमा रहेको छ । जिल्लामा आर्थिक रुपमा विपन्न विरामीहरुलाई कोषले अक्षयकोषको व्याज रकम र सहयोगदाताबाट संकलन हुने रकमबाट आर्थिक सहयोग गर्दै आएको छ ।
हाईपोप्लाष्टिीक एनिमिया रोगका कारण दिवंगत भएकी बेनी नगरपालिका– ४ की ओमकुमारी पुन (शान्ति)को स्मृतीमा स्थापित कोषले जिल्लामा विपन्नको नागरिको उपचार संगै दैवि प्रकोप पीडितहरुलाई समेत राहत जुटाउन सहयोग गर्दै आएको छ ।