जेसिज कप फुटवल मंसिर १७ गतेदेखि २२ गतेसम्म हुने

  • ३ कार्तिक २०८१, शनिबार
  • 157 पटक पढिएको

म्याग्दीमा विद्यालय तहमा लोकप्रिय प्रतियोगिताको रुपमा चिनिएको जेसिज कप फुटवल मंसिर १७ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने भएको छ । म्याग्दी जेसिजको आयोजनामा सञ्चालन हुँदै आएको जेसिज कप फुटवल प्रतियोगिताको २२ औँ संस्करणलाई सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरेर तयारीलाई तिब्र पारिएको जनाईएको छ ।
शनिवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा म्याग्दी जेसिजका शाखा अध्यक्ष दिनेश बानियाँले बेनीको खुल्लामञ्चमा हुने प्रतियोगितालाई सफल बनाउन म्याग्दी जेसीजका उपाध्यक्ष देबेन्द्र घिमिरेको मुल संयोजकत्वमा १९ विभिन्न उपसमिति सहित तयारीमा जुटेको जानकारी दिनुभयो ।

प्रतियोगिताको टाईटल प्रायोजकमा एभरेष्ट ग्लोबल एजुकेशन भिसा सर्भिसेस रहेको छ । प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २३२ पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीमा धमानसिंह अवार्ड, सर्वाधिक गालेकर्ता लक्ष्मी पुतली अवार्ड, उत्कृष्ट गोलरक्षक इन्द्र अवार्ड, उत्कृष्ट डिफेन्डर सरस्वती अवार्ड, उत्कृष्ट स्ट्राईकर रामजी अवार्ड, उत्कृष्ट मिडफिल्डर लालिगुराँस अवार्ड, राईजिङ प्लेयर धन अवार्ड, उत्कृष्ट कोच कृष्णप्रसाद एककुमारी अवार्ड,अनुशासित टिम झलक खगेश्वरी अवार्ड नगद रु २ हजार ५ सय र ट्रफिको व्यवस्था गरिएको मुल संयोजक घिमिरेले जानकारी दिनुभयो । प्रतियोगितामा सेमि फाईनलिष्ट दुई टिमलाई नगद रु ५÷५ हजार र प्रत्येक खेलमा म्यान अफ द म्याचको पुरस्कार पनि प्रदान गरिने छ ।

अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएकाले यसपटक पनि उत्साहजनक उपस्थिती हुने शाखा अध्यक्ष बानियाँको भनाई छ । प्रतियोगितामा कुल आम्दानी ७ लाख ८० हजार र खर्च ७ लाख ५७ हजार २३१ हुने अनुमान गरिएको छ ।