मालिका गाउँपालिकाद्धारा विपन्न नागरिकको निःशुल्क बीमा

  • ८ आश्विन २०८१, मंगलवार
  • 115 पटक पढिएको

म्याग्दी ८ असोज । म्याग्दीको मालिका गाउँपालिकाले पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ। विपन्न नागरिकको स्वास्थ्य उपचारमा सहयोग गर्न गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१/०८२ मा ‘विपन्न नागरिकको स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गर्न लागेको हो ।
ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र महिला स्वास्थ्य स्वयंसेविकाको साथै विपन्न नागरिकको समेत निःशुल्क स्वास्थ्य बीमा गर्न लागिएको मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले बताउनुभयो । उहाँका अनुसार, गाउँपालिकाले विपन्न नागरिकको स्वास्थ्य बीमाको लागि रु ३० लाख र महिला स्वास्थ्य स्वयंसेविकाको बीमाको लागि रु ३ लाख गरि कुल ३३ लाख बजेट विनियोजन गरेको छ ।

यस बर्ष गाउँपालिकाले नौ सय घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य लिएको छ । गाउँपालिकाले लिएको विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रमबाट ४ हजार ५ सय जना लाभान्वित हुने जनाइएको छ । वडा कार्यालयहरुबाट अहिले धमाधम रुपमा विपन्न नागरिकहरुको विवरण संकलन भैरहेको छ ।

वडा कार्यालयहरुमा प्राप्त हुन आउने निवेदनहरुमाथि गाउँकार्यपालिकाको बैठकबाट छनौट गरेर एक बर्षको लागी निःशुल्क स्वास्थ्य बीमा गरिने गाउँपालिकाले जनाएको छ । पाँच जनाको परिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ तिरेपछि एक वर्षसम्मलाई एक लाख रुपैयाँसम्मको उपचार सेवा पाउनेछन्। यस्तै पाँच जनाभन्दा माथिको परिवार भएमा प्रतिव्यक्ति सात सय रुपैयाँ थप हुनेछ भने उनीहरूले थप २० हजार बराबरको उपचार सेवा पाउनेछन्। यसैबिच मालिका गाउँपालिकाले पालिकाभित्रका दिर्घरोगीहरुलाई समेत निःशुल्क औषधी वितरण गर्ने भएको छ । यस बर्षमा गाउँसभाबाट विनियोजन भएको रु २० लाख बजेटबाट गाउँपालिकाको स्वास्थ्य शाखा मार्फत आबश्यक औषधी खरिद गरेर दिर्घ रोगका विरामीरुलाई उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।