दग्नाममा आमा समुहको बहुउद्धेश्यीय भवन उद्घाटन

  • २२ भाद्र २०८१, शनिबार
  • 201 पटक पढिएको

दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा निर्माण भएको नाङ्गीदेवी आमा समुहको बहुउद्धेश्यीय भवन उद्घाटन गरिएको छ । आमा समुहकै सक्रियता तथा प्रदेश सरकार,गाउँपालिका,वडा ,विभिन्न संघ संस्था र व्यक्तीहरुको आर्थिक सहयोगमा निर्माण भएको सभाहल सहितको दुई तले भवनको शुक्रबार प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । आर्थिक वर्ष २०७७ देखि भवन निर्माणको काम सुरु भएको थियो ।

सांसद गर्बुजाले तीज पर्वको शुभकामना व्यक्त गर्नुभयो । आमा समुहको अगुवाईमा बहुउद्धेश्यीय भवन निर्माण हुनु उदाहरणीय र प्रशंसनीय काम भएको बताउनुभयो । भवन निर्माण भएपछि गाउँमा सामाजिक कार्य लगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सहज हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘गाउँमा दिदिबहिनीहरुको अगुवाइमा यति ठुलो भवन निर्माण हुनु भनेको महिलाहरुले अवसर पाए उदाहरणीय काम गर्न सक्छन् यसले पनि प्रमाणित गरेको छ ,’ सांसद गर्बुजाले भन्नुभयो , सांसद गर्बुजाले भन्नुभयो ,‘ हरेक परिवर्तनमा महिला दिदिबहिनीहरुको महत्वपुर्ण भुमिका रहँदै आएको छ । आमा समुहहरुलाई आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेछु । उहाँले जिल्लामा खानेपानी ,सडक लगायत विकास निर्माणको कामले गति लिन थालेको बताउनुभयो ।


भवन निर्माण उपभोक्ता समिति अध्यक्ष दुर्गा गर्बुजाका अनुसार , शौचालय सहितको उक्त भवन एक करोड बढी लागतमा निर्माण भएको हो । भवन निर्माणमा आर्थिक वर्ष २०७७ /०७८ र २०७८/०७९ मा सांसद गर्बुजाको पहलमा गण्डकी प्रदेश सकारबाट दश/दश लाख रुपैयाँ गरी बीस लाख , ०७९/८० मा गाउँपालिकाबाट दश लाख ,सोही वर्ष वडा कार्यालयबाट ५ लाख ,सोही वर्ष गण्डकी प्रदेश सरकारबाट करिब ७५ हजार रुपैयाँ मुल्य बराबरको फर्निचरका सामाग्री खरिद , ०८०/०८१ मा वडा कार्यालयबाट तीस लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।
यसैगरी विभिन्न व्यक्तीगत सहयोग र सामाजिक कार्यहरुबाट पाँच लाख १५ हजार ,रघुगंगा हाइड्रोले पाँच लाख लगायत विभन्न कम्पनी र संस्थाहरुले आर्थिक सहयोग गरेको उपभोक्ता समिति अध्यक्ष गर्बुजाले बताउनुभयो ।

स्थानीय दुर्गाबहादुर पुनको परिवारले एक रोपनी जग्गा पचास हजार रुपैयाँमा आमा समुहलाई उपलब्ध गराउनुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सांसद हरि भण्डारी,गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनले गाउँमा आमा समुहको काम प्रशंसनीय रहेको बताउनुभयो । आगामी दिनमा पनि गाउँपालिका र प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा निवर्तमान गाउँपालिका उपाध्यक्ष कमला तिलिजा ,वडा नम्बर ५ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जा , वडा नम्बर ४ का वडा अध्यक्ष पविन गर्बुजा , दग्नाम–गलेश्वर –बेनी समाजका अध्यक्ष थप्रसाद गर्बुजाले भवन निर्माण भएपछि सबैलाई सहज भएको बताउनुभयो ।

आमा समुह अध्यक्ष मिनकुमारी गर्बुजाले भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै भवनमा हरेक समाजिक कार्य गर्न सहज हुने बताउनुभयो । भवन निर्माण गर्दा करिब तीन लाख रुपैयाँ आमा समुहलाई ऋण लागेको उहाँले बताउनुभयो । भवन निर्माणमा आमा समुहमा आवद्ध महिलाहरुले महिनौ श्रमदान गरेका थिए । साथै भवन निर्माणको काम बाहेक अन्य थप पुर्वाधार निर्माण गर्नुपर्ने भएकोले सहयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा भवन निर्माणका लागि न्युन मुल्यमा जग्गा उपलब्ध गराउने जग्गादाता र आर्थिक सहयोगीदाताहरु लाई सम्मान गरिएको छ । वडा सदस्य एवं पुर्व आमा समुह अध्यक्ष राजकुमारी गर्बुजा र आमा समुह सदस्य मैना पुनले संचालन गर्नुभएको कार्यक्रममा आमा समुह सदस्य राजकुमारी गर्बुजाले स्वागत मन्तव्य राख्नुभएको थियो । आमा समुह,जनता माविका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।