मृत्युलाई जितेर फर्किएका राखुका पाइलट मल्ल सदाका लागि अस्ताए

  • २३ श्रावण २०८१, बुधबार
  • 2975 पटक पढिएको

म्याग्दी, २३ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीका निकै अनुभवी र कुशल मानिएका वरिष्ठ पाइलट अरुण मल्लको दुखद निधन भएको छ । विगत १३ वर्षदेखि एयर डाइनेस्टीको हेलिकप्टर उडाइरहेका पाइलट मल्ल यसअघि कर्णाली एयरमा थिए । बुधबार भएको हेलिकप्टर दुर्घटनामा उनै वरिष्ठ पाइलट मल्लको ५८ वर्षको उमेरमा मृत्यु हुन पुगेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसी उडानका क्रममा नुवाकोटको शिवपुरी–७, सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा पाइलट मल्ल र अन्य ४ जना चिनियाँ यात्रुको घटनास्थलमै मृत्यु हुन पुगेको छ ।


सन् २०११ बाट भने वरिष्ठ पाइलट मल्लले निरन्तर एयर डाइनेस्टीको हेलिकप्टर उडाइरहेको कम्पनीका म्यानेजर बालकृष्ण पण्डितले बताए । ‘उहाँ निकै अनुभवी र सिनियर पाइलट हुनुहुन्थ्यो । जतिबेलादेखि उहाँ कम्पनीमा जोडिनुभयो, दुर्घटनाको दिनसम्म पनि निकै कुशलतापूर्वक र इमानदारितापूर्वक काम गर्नुभयो । दुर्भाग्यवस् बुधबार उहाँ दुर्घटनामा पर्नुभयो,’ पण्डितले भने, ‘उहाँ निकै मेहनती र इमानदार हुनुहुन्थ्यो ।’
पाइलट मल्लको निधनले नेपाली उड्ययन जगतमा अपूरणीय क्षति पुगेको उनले बताए । लामो समय रेस्क्यू फ्लाइटको काम गरेका पाइलट अरुण मल्ल हजारौँमा एक भएको ग्राण्डी हस्पिटल हेलिकप्टर रेस्क्यू इन्चार्ज माधव शर्मा बताउँछन् ।

‘क्याप्टेन मल्लजस्तो मिलनसार, इमानदार र अनुभवी पाइलट सायदै नेपालले फेरि पाउला । उहाँको व्यक्तित्व र काम गर्ने शैली निकै अनुकरणीय थियो,’ उनले भने, ‘त्यति धेरै लामो सङ्गत त गर्न पाइएन, तर जति सङ्गत गरियो, उहाँ मेरो मन मस्तिष्कमा बस्न सफल हुनुहुन्छ । उहाँको तुलना अरुसँग हुनै सक्दैन ।’ देशका विभिन्न ठाउँबाट बिरामीको उद्धार गरेर ज्यान बचाउन लाग्ने क्याप्टेन मल्ल आफैँ मेडिकल टिमसँग निरन्तर संवादमा रहने र समयमै अस्पतालसम्म पुर्याउन भूमिका निर्वाह गर्ने व्यक्ति रहेको शर्मा सम्झन्छन् । मल्लजस्तो अनुभवी, इमानदार र मिलनसार पाइलट नेपाली हवाई उद्योगले फेरि सायदै पाउने उनको भनाइ छ । ‘क्याप्टेन मल्लको निधनले नेपाली हवाई उद्योगलाई अपूरणीय क्षति पुगेको छ,’ उनले भने ।

क्याप्टेन अरुण मल्ल यसअघि पनि दुर्घटनामा परेको खुलेको छ । सो दुर्घटनामा भने उनी सामान्य घाइतेमात्र भएका थिए । २०७० साल असोज १० गते सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा भएको दुर्घटनामा मल्लसहित यात्रु दावा ग्याल्जेन शेर्पा घाइते भएका थिए । एयर डाइनेस्टीकै ९एन–एईएक्स कल साइन भएको हेलिकप्टर अवतरणका क्रममा दुर्घटना भएको थियो । बुधबार दुर्घटना भएको ९एन–एजेडी हेलिकप्टर पनि यसअघि दुर्घटनामा परिसकेको थियो । २०७९ साल चैत २५ गते ह्याम्स अस्पतालमा अवतरणका क्रममा यो हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनाको क्रममा हेलिकप्टरको पुच्छरको भाग ठोक्किएको थियो । घटनामा कोही घाइते नभए पनि हेलिकप्टरको टेल रोटर भने भाँचिएको थियो । यसअघि नै मृत्युलाई जितेका पाइलट मल्ल यो पटक भने सदाका लागि अस्ताएका छन् ।