सौर्य एयर जहाज दुर्घटना : विमानमा सवार १८ जनाको निधन,पाइलट भाग्यले बाँचे

  • ९ श्रावण २०८१, बुधबार
  • 577 पटक पढिएको

काठमाडौं । काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । टेक अफ लिने क्रममा जहाज दुर्घटना भएको हो । टेकअफ लगत्तै जहाज सुरुमा देब्रेतर्फ खसेर बजारिएको र फेरि उछिट्टिएर दाहिनेतर्फ पुगेको थियो ।

दाहिनेतर्फ लगभग दुई सय मिटर घिस्रिँदै जहाजले एयर डाइनेस्टीको हेलिकोप्टरको ह्याङ्गरलाई हिर्काउन पुग्यो । ह्याङ्गरमा रहेको कन्टेनरलाई समेत घिसार्दै जहाज तल खोल्सामा पुगेको थियो ।

दुर्घटनास्थलमा एयर डाइनेस्टीको कन्टेनरसँगै जहाजको ककपिटको भाग रहेको छ । जहाजको पछाडिको भाग त्यहाँबाट टुक्रिएर फेरि सय मिटर पर बजारिएको छ । यो भाग काँडाघारीको बाटो नजिक रहेको छ ।

जहाज दुर्घटना हुँदा ठूलो आवाज आएको थियो । दुई ठाउँबाट आगो र धुवाँको मुस्लो निस्किएको थियो । तत्कालै जहाजमा अग्निनियन्त्रण र उद्दारकर्मी खटिएका थिए ।

जहाजबाट क्याप्टेन मनिष शाक्यको भने जिवितै उद्दार गरिएको छ । प्रहरी स्रोतका अनुसार उनी आफैं जहाजबाट निस्किन सफल भएका थिए । उनको टाउकोमा चोट लागेको छ । पाइलट शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ। यो जहाज मर्मत परीक्षणका लागि पोखरा जाने क्रममा थियो । जहाजमा चालक दल, व्यवस्थापन र इन्जीनियरीङतर्फका कमर्चारी मात्रै सवार थिए ।