म्याग्दीमा ‘हाई भोल्टेज’ले ६० घरमा क्षति, पाँच जना घाइते

  • १७ बैशाख २०८१, सोमबार
  • 2941 पटक पढिएको

म्याग्दी, वैशाख १७-

अन्नपूर्ण गाउँपालिका–६, घारमा हाई भोल्टेज करेण्ट प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ। पाँच जना घाइते भएका छन्।  घारका वडाध्यक्ष रामबहादुर खड्काका अनुसार आइतबार विद्युतको मुख्य र वितरण लाइनमा उच्च गतिको विद्युत प्रवाह भएर आगलागी भएको हो ।      आगलागीबाट घारको ओडारे, भुवानीथान, भुन्या, इदार, बिरौटा टोलका घरमा क्षति भएको हो । स्थानीय जितबहादुर बरुवाल (राम)को घर मा आगलागी हुदा  पसल जलेर १० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको वडा अध्यक्ष खड्काले जानकारी दिए।

त्यसैगरी आगलागीका कारण पाँचओटा कुटानी पिसानी मिल र घरमा राखिएका मिटरबक्स जलेर क्षति भएको छ। नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले विद्युत सट हुनुको कारणबारे अध्ययन भइरहेको जनाएको छ। घारको विद्युत समस्या बारे पटक पटक ध्यानकर्षण गराउँदा समेत सुनुवाइ नभएको भन्दै स्थानियले विरोध र गुनासो गरेका छन् ।