अखिल (क्रान्तिकारी)द्धारा उम्मेदवारी घोषणा,अध्यक्षमा सुदिन पौडेल

  • ८ फाल्गुन २०७३, आईतवार
  • धिरन खत्री
  • 1729 पटक पढिएको

म्याग्दी, ८ फागुन । फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) म्याग्दीले आफ्नो उम्मेदवारको टुंगो लगाएको छ । क्रान्तिकारीले आईतवार पत्रकार सम्मेलन गरि आफ्नो संगठनको तर्फबाट स्ववियु निर्वाचनमा उम्मेदवार बनेकाहरुको नामावली सार्वजनिक गरेको छ । कार्यक्रमम अखिल क्रान्तिकारीका केन्द्रिय सचिब तथा प्रदेश नम्बर ४ का संयोजक कुशल पौडेलले म्याग्दी बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी)को तर्फबाट अध्यक्ष पदमा सुदिन पौडेललाई उम्मेदवार बनाइएको जानकारी दिनुभयो ।

HJJ
हुने स्वतन्त्र विद्यार्थी युनियन

अखिल(क्रान्तिकारी)का केन्द्रिय सदस्य समेत रहेका स्ववियू अध्यक्ष पदका उमेदवार पौडेल संगठनका जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । अखिल क्रान्तिकारीले स्ववियूमा प्रत्येक्ष निर्वाचित हुने पदहरुको उमेदवारहरुको मात्रै नाम सार्वजनिक गरेको हो । जस अन्र्तगत सचिब पदमा संगठनको क्याम्पस इकाइ सचिब सन्दिप न्युरे, कोषाध्यक्षमा रसिला बस्नेत र सदस्यहरुमा सर्मिला पौडेल, सन्तोसी आचार्य, भागिरथ पाण्डे, नारायण ढुंगाना, अनिसा सुवेदी र प्रमिला पुन मगरलाई उम्मेदवार बनाएको जनाइएको छ ।

१५ सदस्यीय स्ववीयुको कार्यसमितिमा उपाध्यक्ष, सहसचिव लगायत छ जना समानुपातीक मतदान प्रक्रियाबाट छनौट हुने व्यवस्था छ । उमेद्वार घोषणा कार्यक्रममा संगठनका केन्द्रिय सचिव तथा प्रदेश नम्बर ४ का संयोजक कुशल पौडेलले शिक्षामा विद्यमान विभेदको अन्त्य, छात्रावृत्ती बैङ्कको व्यवस्था, शैक्षिक योग्यताको प्रमाणपत्र घितोमा राखेर ऋण सुबिधा पाउने व्यवस्था र त्रिभुवन विश्व विद्यालय अन्तरगतका क्याम्पसलाई अनुसन्धान केन्द्र बनाउने लगायतका एजेण्डा सहित निर्वाचनमा भाग लिने बताउनुभयो ।

“स्ववीयु चुनावलाई समानुपातीक बनाउने र वास्तवीक विद्यार्थीले नेतृत्व गर्न पाउने अवसरका लागि २८ वर्षे उमेरको हदबन्दी तोक्ने निती अखिल क्रान्तिकारीको हो” प्रदेश संयोजक पौडेलले भन्नुभयो “जसको निती उसकै नेतृत्व हुनुपर्छ ।” सभापती पदका उमेद्वार पौडेलले म्याग्दी क्याम्पसको सञ्चालक समितिमा वास्तवीक अभिभावकको प्रतिनिधित्वको सुनिश्चितता, छात्रवृत्तीलाई पारदर्शी बनाउन, महाँगो शूल्क तिरेर टिउसन पढ्नुपर्ने समस्याको अन्त्यका लागि क्याम्पसका दक्ष प्रध्यापकहरुद्धारा सहुलियतमा अतिरिक्त कक्षा सञ्चालन, भौतिक पुर्वाधार र शैक्षिक सुधार गर्न आफूलाई जिताउन आव्हान गर्नुभयो ।

“सञ्चालक समितिमा बास्तवीक अभिभावकको प्रतिनिधित्व नभएसम्म विद्यार्थीको समस्या समाधान हुदैन” पौडेलले भन्नुभयो “क्याम्पसमै दक्ष प्रध्यापकहरुबाट न्युन दरमा अतिरित्तक कक्षा सञ्चालन गरेमा महँगोमा ट्युसन पढ्नुपर्ने बाध्यताको अन्त्य हुन्छ ।” समुदाय स्तरबाट सञ्चालित क्याम्पसको आयस्रोतका लागि ब्यवसायीक भवन, घेरावार निर्माण, छात्रावास, कम्प्युटर प्रयोगशाला, पुस्तकालयको व्यवस्थित सञ्चालन गर्न पहल गर्ने बताउनुभयो । “नामको अगाडी पद झुण्डाउन मेरो उमेद्वारी होईन” पौडेलले भन्नुभयो “शैक्षिक सुधारका लागि अखिल क्रान्तिकारीले जित्न आवश्यक छ ।” स्ववीयु चुनावका लागि अखिल क्रान्तिकारीले बाबियाचौरको मंगला क्याम्पसको सभापतीमा कुशुम पाण्डेको उमेद्वारी घोषणा गरीसकेको छ ।

धिरन खत्री