प्रेस रजिष्ट्रारको व्यवस्था गर्न पत्रकार संगठनहरुको माग

  • १४ फाल्गुन २०८०, सोमबार
  • 119 पटक पढिएको

पोखरा, १४ फागुन ः प्रेसमैत्री आमसञ्चार विधेयक ल्याउनुपर्नेलगायत माग राखी गण्डकी प्रदेशमा क्रियाशील पत्रकार सम्बद्ध सङ्घसङ्गठनले आज गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष चारबुँदै ध्यानाकर्षणपत्र बुझाएका छन् । आइतबार कास्कीको धम्पुसमा बसेको प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस सङ्गठनको प्रदेश समितिका पदाधिकारीको बैठकमा भएका छलफल र निर्णयका आधारमा विभिन्न मागसहित मुख्यमन्त्रीमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराइएको हो ।

प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको आमसञ्चार विधेयकलाई पत्रकार र मिडियामैत्री हुने गरी पारित गर्न र तत्कालै प्रेस रजिष्टारको व्यवस्था गर्न माग गरिएको प्रेस सेन्टर गण्डकी प्रदेशका महासचिव सन्तोष गौतमले जानकारी दिनुभयो ।

पत्रकार परिचयपत्र, नवीकरणका साथै सञ्चार माध्यमहरुको दर्ता र नवीकरणसमेत प्रदेश तहमै हुने व्यवस्था गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको उहाँको भनाइ छ । ध्यानाकर्षणपत्रमा पत्रकारको हकहित र क्षमता विकासका लागि पत्रकार महासङ्घलगायत पत्रकार सम्बद्ध सङ्घसङ्गठनहरुलाई बजेट व्यवस्था हुनुपर्ने जनाइएको छ ।

प्रदेश सरकारले चालु आवमा सञ्चार गृहलाई दिने लोककल्याणकारी विज्ञापनको दरका वृद्धि गरेकामा धन्यवाद दिँदै सोको वितरण प्रणालीलाई चुस्त बनाउनुपर्ने माग गरिएको छ । कार्यालय खोलेर व्यवस्थित रुपमा सञ्चालन भएका र न्यूनतम पारिश्रमिक लागू गरेका सञ्चार माध्यमलाई मात्र लोककल्याणकारी विज्ञापन दिनुपर्ने माग राखिएको नेपाल प्रेस युनियन गण्डकी प्रदेश समितिका महासचिव प्रकाश ढकालले बताउनुभयो ।

सरकारी कार्यालय तथा निकायबाट प्रकाशन तथा प्रसारण हुने सूचना÷विज्ञापन सम्बन्धित प्रदेश तथा जिल्लाका सञ्चारमाध्यमलाई दिनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ । ध्यानाकर्षणपत्र ग्रहण गरेपछि मुख्यमन्त्री पाण्डेले सञ्चार क्षेत्रको विकास र शसक्तिकरणका लागि प्रदेश सरकार सहयोगी बन्न तयार रहेको बताउनुभयो ।

आमसञ्चार विधेयकले सञ्चार क्षेत्र थप व्यवस्थित हुने धारणा राख्दै आगामी आर्थिक वर्षमा सञ्चारको बजेट थप वृद्धि गर्ने प्रतिबद्धता जनाउनुभयो । मुख्यमन्त्री पाण्डेले प्रदेशसभाको आगामी हिउँदे अधिवेशनबाट आमसञ्चार विधेयक पारित हुने बताउनुभयो ।

पत्रकार संगठनहरुको प्रदेश स्तरीय नेतृत्वबीच अन्तरघुलन, पत्रकारका पेशागत र व्यवसायिक मुद्दाको विषयमा छलफल, पत्रकार महासंघ लगायत साझा संस्थाका गतिबिधिलाई सहज बनाउन र सरकारलाई नीति निर्माणमा सुझाव दिने विषयमा छलफलका लागि बैठक आयोजना भएको थियो ।

घम्पुसमा प्रेस सेन्टरको आतिथ्यतामा भएको बैठकको सञ्चालन सेन्टरका महासचिव सन्तोष गौतम, अध्यक्षता प्रेस चौतारीका गण्डकी प्रदेशका अध्यक्ष इन्द्र पौडेल र स्वागत प्रेस युनियन गण्डकीका अध्यक्ष टंकराज अधिकारी, सेन्टरका अध्यक्ष अर्जुन काफ्ले र समाजवादी प्रेस संगठनका प्रदेश अध्यक्ष गणेश पौडेलले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

आवश्यकताको आधारमा आलोपालो बैठकको आयोजना गर्ने समझदारी अनुसार आगामी बैठक समाजवादी प्रेस संगठनले आयोजना, नेपाल पेस युनियनले अध्यक्षता, प्रेस चौतारीले सञ्चालन र प्रेस सेन्टरले स्वागत गर्ने निर्णय भएको छ ।

सो बैठकले नेपाल पत्रकार महासंघले अघि सारेको पत्रकार शुुद्धिकरण अभियानलाई १४ बुुदे मापदण्डको अक्षरस र एकरुपताका साथ कार्यान्वयन गरेर सदस्यता नविकरण तथा वितरणको कामलाई यथासक्य छिटो सम्पन्न गरि निर्वाचनको मिति घोषणा गर्न अनुुरोध गरेको छ ।

सञ्चार गृहहरुले विभिन्न बाहनामा पत्रकारहरुलाई समयमा तोकिएको तलब र सेवा सुविधा उपलब्ध नगराउने, निष्कासन गर्ने जस्ता गतिबिधि गरेको प्रति घोर निन्दा र आपत्ति जनाउदै यस विषयमा सबै संगठनहरुले साझा रुपमा श्रमजिवी पत्रकारहरुको पक्षमा पैरवी गर्ने, दवाव दिने र पत्रकारहरुको समस्या समाधानका लागि सहजिकरण गर्ने निर्णय बैठकले गरेको छ ।