बेनीमा ‘प्रथम म्याग्दी कप’ भलिबल प्रतियोगिता सुरु

  • ९ माघ २०८०, मंगलवार
  • 477 पटक पढिएको

म्याग्दी ९ माघ: म्याग्दी सदरमुकाम बेनीमा ‘प्रथम म्याग्दी भलिबल कप २०८०’ सुरु भएको छ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा बेनीको खुलामञ्चमा आजदेखि सुरु भएको प्रतियोगिता माघ १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा जिल्लाका अन्तरमावि छात्र÷छात्रा तथा महिला र पुरुष शिक्षकहरुको विच भलिबल खेल हुनेछ ।


प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले उद्घाटन गर्नुभएको छ । उहाँले भलिबल खेलको विकास र खेलाडीको पहिचानको लागि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले खुलामञ्चलाई रंगशाला बनाउने योजनामा संघीय सरकार मार्फत आबश्यक बजेट भित्र्याउन भूमिका खेल्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।
भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ १२ वटा विद्यालयको सहभागिता रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पुरुष शिक्षकतर्फ २० र महिला शिक्षकतर्फ १० वटा विद्यालय सहभागि भएका छन ।
प्रतियोगिताको छात्र÷छात्रातर्फ प्रथम हुने विद्यालयलाई नगद रु ५० हजार र द्वितीय हुनेलाई नगद रु २५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपद्धारा पुरस्कृत गरिनेछ । त्यस्तै महिला÷पुरुष शिक्षकतर्फ प्रथम हुनेलाई नगद रु २० हजार र द्वितीय हुनेलाई नगद रु १० हजार ट्रफि, मेडल प्रमाणपत्रद्धारा पुरस्कृतगरिने म्याग्दी जिल्ला भलिबल संघका महासचिव कुमार किसानले जानकारी दिनुभयो ।
छात्र÷छात्रा र पुरुष÷महिला शिक्षकहरुको पुरस्कार राशी समान गरिएको आयोजकले जनाएको छ । त्यस्तै विद्यार्थीतर्फको उत्कृष्ट खेलाडीलाई रु ५ हजार र शिक्षकतर्फको उत्कृष्ट खेलाडीलाई रु २ हजार ५ सय पुरस्कारको व्यवस्था समेत रहेको छ । म्याग्दी कपको मुख्य प्रायोजकको रुपमा बेनी नगरपालिका–४ मा रहेको गौमति विकास कोष रहेको छ । प्रतियोगिताको उद्घाटन समारोहमा बेनी नगरपालिकाका मेयर सुरत केसी र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले म्याग्दीमा खेल गतिविधिले लय लिएकोमा जोड दिँदै खुलामञ्चलाई रंगशाला बनाउनका लागि सबैले साझा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।