म्याग्दीमा शिक्षक, विद्यार्थीहरुको जिल्ला स्तरीय भलिबल ‘म्याग्दी कप’ को तयारी पुरा

  • ७ माघ २०८०, आईतवार
  • 599 पटक पढिएको

म्याग्दी ७ माघ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा बेनीको खुल्लामञ्चमा हुन लागेको प्रथम म्याग्दी भलिबल कप २०८० को तयारी पुरा भएको छ ।
माघ ९ देखि १२ गतेसम्म सञ्चालन हुने  जिल्लाका अन्तरमावि छात्र/छात्रा तथा महिला र पुरुष शिक्षकहरुको  भलिबल खेलहुने म्याग्दी भलिबल कपको तयारी पुरा भएको छ ।
आईतवार जिल्ला खेलकुद विकास समितिमा आयोजित पत्रकार सम्मेलनमा म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ १२ वटा विद्यालयको सहभागिता रहने जानकारी दिनुभयो । उहाँका अनुसार पुरुष शिक्षकतर्फ २० र महिला शिक्षकतर्फ ९ वटा विद्यालय सहभागि हुने भएका छन ।
प्रतियोगिताको छात्र÷छात्रातर्फ प्रथम पुरस्कार नगद ५० हजार र द्वितीय पुरस्कार नगद २५ हजार ट्रफि, मेडल प्रमाणपत्र रहेको छ । त्यस्तै महिला÷पुरुष शिक्षकतर्फ प्रथम पुरस्कार नगद २० हजार र द्वितीय पुरस्कार नगद १० हजार ट्रफि, मेडल प्रमाणपत्र रहेको म्याग्दी जिल्ला भलिबल संघका महासचिव कुमार किसानले जानकारी दिनुभयो । त्यस्तै विद्यार्थीतर्फको उत्कृष्ट खेलाडीलाई रु ५ हजार र शिक्षकतर्फको उत्कृष्ट खेलाडीलाई रु २ हजार ५ सय पुरस्कारको व्यवस्था समेत रहेको छ । म्याग्दी कपको मुख्य प्रायोजकको रुपमा बेनी नगरपालिका–४ मा रहेको गौमति विकास कोष रहेको छ ।
कार्यक्रममा संघका अध्यक्ष बानियाँले विद्यालय खेलाडी उत्पादनको नर्सरी भएकोले विद्यालय स्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । जग बलियो भएपछि मात्रै घर बलिया हुन्छ भनेजस्तै हामीले पनि विद्यालय स्तरमा रहेका विद्यार्थीहरुमा भलिबल खेलको विकास गर्ने उद्धेश्य राखेर प्रतियोगिताका आयोजना गरेका हौँ, अध्यक्ष बानियाँले भन्नुभयो । त्यस्तै शिक्षकलाई पनि भलिबल खेलतर्फ आकर्षण गर्नका लागि शिक्षक, शिक्षिकाको खेल राखिएको उहाँको भनाई थियो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले जिल्लामा भलिबल खेलतर्फ विद्यार्थीहरुको आकर्षण बढ्दै गएको बताउनुभयो । विद्यार्थीहरुलाई अनुशासन पूर्वक खेल प्रदर्शन गर्न आग्रह गर्नुहुँदै अध्यक्ष केसीले उत्कृष्ट खेल खेल्ने खेलाडीलाई प्रदेश स्तरीय राष्ट्रिपति रनिङ शिल्डमा छनौट गर्न सकिने अवसर रहेको बताउनुभयो । उहाँले खेलले स्वस्थ बनाउने र कुलतबाट समेत युवाहरुलाई जोगाउन सकिने भएकाले पढाई संगै कुनै न कुनै खेलमा आवद्ध हुँन विद्यार्थीहरुलाई अनुरोध समेत गर्नुभयो ।

सहभागि विद्यालयलाई राष्ट्रिय झन्डा र विद्यालयको झन्डा अनिवार्य रुपमा ल्याउन संघले अनुरोध गरेको छ । प्रतियोगिता संचालनका लागि अनुमानित ६ लाख रुपैयाँ खर्च लाग्ने संघले जनाएको छ ।