जलजलाका माओवादी कार्यकर्तालाई प्रशिक्षण

  • १८ पुष २०८०, बुधबार
  • 179 पटक पढिएको

बेनी, १७ पुष । पर्वतको जलजला गाउँपालिकाका नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरुलाई मंगलबार प्रशिक्षण दिइएको छ । जलजला गाउँपालिका–९ बनौमा अगुवा नेता कार्यकर्ताहरुलाई राजनैतिक, बैचारिक प्रशिक्षण सहित गत भदौ १६ गतेदेखि शुरु भएको जनतासँग माओवादी रुपान्तरण अभियानको समापन गरिएको हो ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला ईञ्चार्ज बलावती शर्मा, केन्द्रिय सदस्य मधुमाया अधिकारी, बखानसिंह गुरुङ, गण्डकी प्रदेश उपाध्यक्ष गुणाखर बस्याल, पर्वत जिल्ला संयोजक मनरुपा शर्माले माओवादी आन्दोलनको पृष्ठभूमि, उपलब्धी र योजनाका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

माओवादी आन्दोलनको उपलब्धीका रुपमा रहेको संघीयता र गणतन्त्र सहितको संविधानको कार्यान्वयन गर्दै नागरिकको अवस्था सुधारका लागि शुसासन, सम्बृद्धि र सामाजिक न्यायको मुद्दामा केन्द्रित हुुनपर्ने नेताहरुले बताउनुभयो ।

रुपान्तरण अभियानले माओवादीलाई कमजोरी सुधार गरेर थप सुदृढ र जनतामा आशा जगाउन सफल भएको नेताहरुले बताउनुभयो । माओवादीका युवा नेता तथा जलजला ९ का जननिर्वाचित वडा अध्यक्ष गौबहादुर पुन लगायत स्थानीय नेता कार्यकर्ताहरुको व्यवस्थापनमा बनौमा कार्यक्रम भएको हो ।

अभियानको क्रममा जलजलाको ९ वटै वडामा कार्यकर्ताको सदस्यता नविकरण, नयाँ सदस्यता विस्तार, जनभेटघाट, सुझाव संकलन र प्रशिक्षण दिइएको माओवादी केन्द्र जलजला कमिटिका अध्यक्ष तथा जलजला गाउँपालिकाका जननिर्वाचित उपाध्यक्ष दिपक आचार्य (आकाश)ले जानकारी दिनुभयो ।

धेरै वर्षपछि माओवादीका नेताहरु गाउँगाउँमा पुग्दा नागरिकले जनताका मुद्दा र समस्या समाधानमा केन्द्रित हुदै कार्यशैली सुधार गर्न सुझाव दिएका छन् । प्रशिक्षण कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख समेत रहेका माओवादी केन्द्र जलजलाका सचिव सोम बहादुर जिसीले गर्नुभएको थियो ।