प्रचण्डको चेतावनीः कांग्रेसले मानेन भने देउवाको ठाउँमा म पुग्न सक्छु

  • २४ श्रावण २०७४, मंगलवार
  • 2343 पटक पढिएको

काठमाडौं–तीन साता अघि सत्ता गठबन्धनमा हुन सक्ने सम्भावित गढबढमाथि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक वृतमा नयाँ बहस सिर्जना गराएका थिए । फेरि मंगलवार पनि प्रचण्डले अहिलेको गठबन्धनबाट प्रधानमन्त्री  बनेका शेरबहादुर देउवालाई तनाव हुने गरी अभिव्यक्ति दिएका छन् ।


प्रचण्डले आफ्नो पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा रहेको भन्दै सो मुद्दामा कांग्रेस सहमत नभए मुद्दामा सहमति जनाउने शक्तिसँग सहकार्य गर्न सकिने संकेत दिएका छन् ।

मंगलबार  ललितपुरमा आयोजित पार्टीको  तीन नम्बर प्रदेशको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले काँग्रेसलाई प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको मुद्दामा सहमति जनाउन आग्रह गर्ने र काँग्रेसले नमाने मान्ने शक्तिसँग सहकार्य गर्न सकिने बताए ।

‘विकास र स्थिरताका लागि कार्यकारी प्रमुख अनिवार्य बन्यो । हाम्रो पार्टी यो विषय लिएर जनताकहाँ जाने भनिसकेको छ । यस्तो बेला अन्य राजनीतिक शक्तिसँग पनि सहकार्य र संवाद चाहिन्छ । हामी कांग्रेसलाई यो मुद्दामा सहमति जनाउन आग्रह गर्छौँ । र, भनिदिन सक्छौं, कार्यकारी राष्ट्रपतिको मुद्दामा कांग्रेसले सहमति जनाएन विकल्प पनि खोज्न सक्छौँ । हामीले  त्यसमा  सहमति जनाउने  पार्टी पनि पाइसकेका छौं’, प्रचण्डले भने, ‘त्यस्तो भयो भने देउवाजी अहिले भएको  भएको ठाउँमा हामी पुग्न सक्छौं, बेलैमा गम्भीर बनियोस् ।’प्रचण्डले त्यस्तो शक्ति कुन पाएका हुन् स्पष्ट त गरेनन् । तर, एमालेसँग हुन सक्ने सहकार्यको संकेत गरेको अनुमान छ ।

प्रचण्डको सचिवालयका अनुसार प्रचण्डले प्रशिक्षणमा भनेका थिए, ‘माओवादीसँग सहकार्य गर्ने शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूख मान्नुपर्छ, हिजो आफैले मानेको एजेण्डा फेर्ने नैतिक अधिकार कांग्रेस–एमालेलाई छैन’ प्रचण्डले थप्नुभयो, ‘नेपालमा कम्तिमा पाँच वर्ष स्थीर सरकार चाहिन्छ । स्थीर सरकारले मात्रै आर्थिक समृद्धि हासिल गर्न, राष्ट्रिय एकता बलियो बनाउन र वैदेशिक हस्तक्षेपबाट जोगाउन सक्छ । यसले मात्रै हिमाल, पहाड र तराई–मधेशलाई जोड्न सक्छ, देशलाई एकताको एउटै शुत्रमा बाँध्न सक्छ ।’

source; ratopati