लक्ष्य अघिनै सडक कालोपत्र गर्ने निर्माण व्यवसायी कार्कीलाई सम्मान

  • ९ पुष २०८०, सोमबार
  • 157 पटक पढिएको

 

बेनी, ९ पुस । २४ महिना ठेक्का अवधी भएको सडक कालोपत्र गर्ने योजना एक वर्षमै सम्पन्न गर्ने निर्माण व्यवसायी सुवासचन्द्र कार्कीलाई बेनी नगरपालिका– ९ गलेश्वरबासीले फूलमालासहित सम्मानपत्रले सम्मान गरेका छन ।

बेनी–गलेश्वर सडक योजनाको निर्माण कम्पनी मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रा.ली.का सञ्चालक कार्कीलाई बेनी नगरपालिका–९ मा गलेश्वरका बासिन्दा र संघ संस्थाको तर्फबाट सम्मान गरिएको हो । गलेश्वरधाम आमा समूहले आयोजना गरेको कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोष र टोल विकास संस्थाका पदाधीकारी तथा स्थानीयबासीले कार्कीलाई सम्मानपत्र प्रदान गर्नुका साथै फुलमाला र अविर लगाएर सम्मान गरेका थिए ।

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने दुई किलोमिटर एक सय मिटर सडक विस्तार, नाली, पर्खाल निर्माण र कालोपत्र गर्न वि.स. २०७९ पुष १७ गते भ्याट÷पीएससहित रु १२ करोड ७५ लाख ९४ हजार ४३६ मा ठेक्का सम्झौता भएको थियो ।

समुहका अध्यक्ष फुलकुमारी रोकाले राम्रो र छिटो काम गरेका निर्माण व्यवसायीलाई प्रोत्साहनका लागि सम्मान गरिएको बताउनुभयो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्की र स्थानीयबासी बमबहादुर पुनले असहज अवस्थाका बावजुद लक्ष्य भन्दा अघि सडक कालोपत्र गरेकोमा निर्माण व्यवसायीलाई धन्यवाद दिनुभयो ।

सडक निर्माण भएपछि धुलो र हिलोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्नुको साथै यात्राअवधि पनि छोटिएकोमा स्थानीयबासीले खुसी व्यक्त गरेका छन । बेनी–गलेश्वर सडक आयोजना ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई चुनौती बनेको छ । बेनी नगरपालिकासहित रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका, मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवतजावतमा सहज भएको छ ।

पर्याप्त उपकरण, निर्माण सामग्री र मजदुर परिचालन गरेर लक्ष्य अघिनै सम्पन्न गरेको निर्माण कम्पनीका सञ्चालक कार्कीले बताउनुभयो । “आयोजना कार्यालय, स्थानीय प्रशासन, जनप्रतिनिधि र समुदायले योजना निर्माणमा पर्याप्त सहयोग तथा सहजिकरण हुँदा सहज भयो,” उहाँले भन्नुभयो “व्यवसायको १३ वर्षको अवधिमा १०० भन्दा बढी योजना लक्ष्यअघिनै सम्पन्न गरेको छु । समुदायबाट पहिलो पटक सम्मान पाएकोमा उत्साहीत भएको छ ।”