ठूलोखोला जलविद्युत आयोजनाको टनेल ब्रेकथ्रु
- २४ मंसिर २०८०, आईतवार
- 361 पटक पढिएको
बेनी, २४ मंसिर : म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगले र ७ चिमखोलाममा निर्माणधिन २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको सुरुङ जोडिएको (टनेल ब्रेकथ्रु ) भएको छ । इन्लेट र आउटलेट गरि दुई ठाउँबाट मात्रै टनेल निर्माण गरिरहेको आयोजनाले करिब २० महिनामा २ हजार ७ सय मिटर लामो मुख्य सुरुङ (हेडरेस्ट टनेल) निर्माण गरेको हो ।
संयुक्त ऊर्जा लिमिटेडले निर्माण गर्न लागेको यस आयोजनामा २०७८ मंसिरदेखि टनेल निर्माण सुरु भएर शनिवार टनेल ब्रेकथ्रु गरेको आयोजनाका प्रमुख रविन्द्र हमालले जानकारी दिनुभयो । उहाँका अनुसार, हिमाली क्षेत्र र प्राकृतिक प्रकोप लगायतको कारण आयोजनामा करिब २० महिना मात्रै नियमित रुपमा काम भएको छ । ‘‘आयोजनाको सबैभन्दा कठिन मानिने टनेल जोड्ने काम सकिएको छ, ड्याम साईड र विद्यूतगृहमा समेत धमाधम काम भैरहेको छ’’–आयोजना प्रमुख हमालले भन्नुभयो ।
७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको यस आयोजनामा आगामी आठ महिनाभित्र निर्माण सकेर विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ । रघुगंगा गापा ७ चिमखोला र ८ कुइनेमंगलेको सिमाक्षेत्र फेदीखोलामा मुहान रहने यस आयोजनामा पानीलाई छरी स्थित रघुगंगा नदिको किनारमा रहने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिनेछ । आयोजनामा छ सय मिटर पेनस्टक टनेल रहनेछ । चार सय ९५ मिटर पेनस्टक टनेल खनिसकिएको छ भने एक सय मिटर भर्टिकल पेनस्टक टनेल मध्ये पचास मिटर खन्न बाँकी छ ।
यस आयोजनामा अहिले करिब २२५ जना कामदारले नियमित रुपमा काम गर्दै आएका छन् । गैर आवासीय नेपाली र नेपालीहरुको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैँक तथा वित्तिय संस्थाहरुको लगानी रहेको छ । यस आयोजनामा नेपाल बैँक लिमिटेडको नेतृत्वमा सनराईज बैँक, राष्ट्रिय बाणिज्य बैँक, सिद्धार्थ बैँकले लगानी गरेको आयोजनाले जनाएको छ ।
यस आयोजनामा गत असारमा आएको बाढीले बाँधतर्फ निर्माणधिन पूर्वाधारमा क्षति पु¥याएपछि आयोजनको निर्माण कार्य केहि पछि धकेलिएको हो । आयोजनाको सिभिल ठेकेदार कम्पनी साकुरा पावर÷त्रिपल एस जेभीले आबश्यक जनशक्ति र मेसिन उपकरण परिचालन गरेर आयोजनालाई थप गरिएको लक्ष्यमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ ।आयोजना सम्पन्न गर्न करिब ३ अर्ब ६० करोड लागत अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रिय प्रशारण लाइनमा जोड्नका लागि २३ किलोमिटर लामो प्रशारण लाईन निर्माणको चरणमा रहेको छ । रासस