सोती हत्याकाण्डमा २४ जनालाई जन्मकैद

  • १९ मंसिर २०८०, मंगलवार
  • 181 पटक पढिएको

रुकुम पश्चिममा ६ जनाको हत्या हुने गरी साढे तीन वर्षअघि भएको घटनाका दोषीलाई जन्मकैदनको सजाय भएको छ । आठजनाले सफाइ पाएका छन् । तीन दिनको निरन्तर सुनुवाइपछि जिल्ला अदालत रुकुम पश्चिमले आज फैसला सुनाएको हो । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले पुर्पक्षका लागि हाल कारागारमा रहेका २३ जना र अभिभावकको जिम्मा लगाइएका एक नाबालकसहित २४ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

कर्तव्य ज्यानमा जन्मकैद सुनाइएका उनीहरूलाई जातीय छुवाछुत तर्फ दुई वर्ष कैद र ५० हजार जरिवानासमेत सुनाइएको जिल्ला अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले  जानकारी दिए । नाबालिकासहित दुईजनालाई जातीय छुवाछुत तर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना गरिएको कोइरालाले बताए । उनका अनुसार आठजनाले सफाइ पाएका छन् । जन्मकैदको सजाय पाउनेमा चौरजहारी नगरपालिका वडा नम्बर ८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुनमगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल छन् ।

यस्तै, सर्वजित भनिने सविन पुन, परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६) १, परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६) ३, तिलक चन्द र इन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरीलाई पनि जन्मकैदको सजाय भएको सूचना अधिकारी कोइरालाले जानकारी दिए ।उनका अनुसार लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनाराज राना, नवीनकुमार घर्ती मगर (जि.एम.), विराज पुनमगर, भीमबहादुर पुन, रमित पुनमगर, विष्णु मल्ल र परिवर्तित नाम ५४ रुकुम पश्चिम (३९) लाई पनि जन्मकैद सजाय फैसला भएको छ ।

२३ जना कारागारमै रहेका छन भने परिवर्तित नाम ५४ रुकुम पश्चिम ३९ लाई अभिभावकको संरक्षणमा छाडिएको थियो । परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६) २ र परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६) लाई जातीय छुवाछुत तर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना गरिएको कोइरालाले जानकारी दिए । यसै घटनाका प्रतिवादी तुलाराम घर्ती, डिल्ली घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, इन्द्रबहादुर बुढा, तुलबहादुर मल्ल र दीपेन्द्र चन्दले सफाइ पाएका छन् ।

गत १० जेठ ०७७ मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ स्थित सोती गाउँमा अकल्पनीय हत्याकाण्ड भएको थियो । आफूभन्दा कथित ‘माथिल्लो’ जातकी युवतीसँग प्रेम गरेको भन्दै जाजरकोटका नवराज विक र उनका पाँचजना साथीलाई लखेटी–लखेटी हत्या गरिएको थियो । कतिपयलाई जिउँदै हातखुट्टा बाँधेर भेरी नदीमा फालिएको थियो ।