२१ दिनअघि बेनीबाट बेपत्ता भएकी युवती भीरमा मृत फेला

  • ११ मंसिर २०८०, सोमबार
  • 370 पटक पढिएको

म्याग्दीको बेनीबाट २१ दिनअघि हराएकी एक युवतीको पर्वतको मल्लाजस्थित भीरमा शव भेटिएको छ। गत कात्तिक २१ गतेदेखि बेनीबाट हराएकी मंगला गाउँपालिका–३ बरंजाकी ३० वर्षीया पुष्पा सापकोटा शनिबार बिहान पर्वतको जलजला गाउँपालिका–३ मा पर्ने ठूलो सल्लेरी र भीरमुनी सामुदायिक वन क्षेत्रमा मृत भेटिएकी हुन्।  म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार शनिबार बिहान भेटिएको शव पुष्पाको भएको पुष्टि भएको र परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको जानकारी दिए। शव सडेको अवस्थामा भेटिएको थियो। बेनीको कालीपुल पारी रहेको सो जङ्गलको भूगोल पर्वतमा पर्छ।

घटनाको बारेमा पर्वत प्रहरीले अनुसन्धान थालेको छ। बेनीको अस्पताल चोकमा रहेको पाण्डे मेडिकल हलमा कार्यरत सापकोटा कात्तिक २१ गते बिहान पौने ११ बजे त्यहाँबाट निस्किएकी थिइन्। उनको मोबाइलको ‘लोकेशन’ क्याम्पस चोकको टावर रेञ्जमा देखाएको थियो। पुष्पाको मृत्युको विषय प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ। घटनास्थल पर्वतमा पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय पर्वतबाट नै टोली खटिएर अनुसन्धान गर्ने र पोष्टमर्टम गरेपछि शव परिवारको जिम्मा लगाउने तयारी छ।