बेनी–गलेश्वर सडकमा कालोपत्रे सुरु (फोटोफिचर)

  • ९ मंसिर २०८०, शनिबार
  • धिरन खत्री
  • 249 पटक पढिएको

 

म्याग्दी, ९ मंसिर । उत्तर–दक्षिण जोड्ने कालिगण्डकी कोरिडोर सडक योजना अन्तर्गत बेनी–गलेश्वर सडक खण्डको कालोपत्रे काम सुरु भएको छ । राष्ट्रिय गौरबको आयोजना मानिएको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत बेनी– गलेश्वर खण्डमा निर्माण कम्पनी मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालीले कालोपत्रेको काम अघि बढाएको हो ।

जिल्लामा भित्रिएका ठुलो योजनाहरूमा ढिलासुस्ती, अलपत्र र समयमै सम्पन्न नहुने समस्याबीच यस क्षेत्रमा निर्माण कम्पनीले छोटो समयमा गरेको काम चौतर्फी रुपमा प्रशंसा पाएको छ । कालीगण्डकी कोरिडोरका (बेनी–जोमसोम कोरला सडक योजना) ईन्जिनियर अच्युत विलास पन्तले कोरिडोर अन्तरगत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो र छोटो समयमा डिविएसडी किसिमको कालोपत्रे काम अघि बढेको खण्ड बेनी– गलेश्वर रहेको बताउनुभयो ।

उहाँले निर्माण कम्पनीले २०७९ सालको माघ ६ गतेबाट सुरु गरेको योजनाको काम ११ महिनाको अवधीमा सडक तलमाथिको पर्खाल, नाली, चार वटा कल्भट, सडक फराकिलो बनाउने काम, सबवेस र २ सय मिटर आरसिसी ढलानसहित सकेर एक किलोमिटर ९ सय मिटर सडकको डिविएसडी किसिमको कालोपत्रेको काम शनिबारदेखि सुरु गरेको बताउनुभयो । उहाँले यो कालोपत्रेको काम एकहप्तामा सम्पन्न हुने जानकारी दिनुभयो ।

‘आज बेसमाथि प्राईमकोर्ड राख्ने काम भयो, यसमा २४ घण्टापछि फेरी प्राईमकोर्ड राखेर चिम्स पेलेपछि सेकेण्ड कोर्ड गर्दै डिविएसडी किसिमको कालोपत्रे हुने छ,’– ईन्जिनियर पन्तले भने । कालोपत्रे कामलाई गुणस्तर बनाउन बेनी नगरपालिका मेयर सुरत केसी र कोरिडोरका दुईजना इन्जिनियर फिल्डमै खटिनुभएको थियो ।

२०८१ साल माघमा सम्पन्न गर्नुपर्ने काम एकबर्षभित्र अगाडी सिध्याउने योजनासहित ठेक्का सम्झौता लगत्तै योजना स्थलमा उपकरण र मजदुर परिचालन गरेर अन्तिम चरणको कालोपत्रे काम अघि बढेको मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालीका सञ्चालक एवम् निर्माण व्यवसायी सुवासचन्द्र कार्की बताउनुभयो । बर्खापछाडी बेस र कालोपत्रे गर्ने काम मात्र बाकी राखेर अन्य काम पाँच महिनामा सकेको थियो । दँशैपछाडी बेस राखेर सकेको कामलाई तिहारलगतै कालोपत्रेको लागि सामाग्री जुटाएर शनिबारदेखि कालोपत्रेको काम अघि बढाएको उहाँले बताउनुभयो । यसलाई समयअवधी भन्दा एक बर्ष अघिनै काम सम्पन्न गराउनका लागि कोरिडोरका ईन्जिनियर, बेनी नगरपालिका र म्याग्दीका सरोकारवालाहरुको सहयोगले समयमै काम गर्न सफल भएको उल्लेख गर्नुभयो ।

दुई किलोमिटर १०२ मिटर सडक कालोपत्रे गर्नका लागि मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालीले भ्याट/पिएससहित १२ करोड ७५ लाख ९४ हजार ४३६ रुपैयाँमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७९ पुस १७ गते आयोजना र निर्माण कम्पनीविच सम्झौता भएको थियो ।

यस सडक स्तरोन्नति समयमै सम्पन्न हुदाँ बेनी नगरपालिकासहित रघुगंगा र अन्नपूर्ण गाउँपालिका र मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवातजावातमा सहज हुने छ । कालीगण्डकी नदीको कटान र माथिबाट खहरे भेलले सडक जीर्ण र साँगुरो बन्दै गएपछि पर्यटक र सर्वसाधारणको तीव्र दबाबपछि जिल्लाका जनप्रतिनिधि, सरोकारवाला र कोरिडोरको सक्रियतामा अघि बढाईएको कालोपत्रे योजनाले समयसिमा भन्दा एकबर्ष अगाडीनै पूर्णता पाउने भएको छ ।

   

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l