प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर दर्शन गर्ने धार्मिक पर्यटक बढे (फोटोफिचर)

  • ४ मंसिर २०८०, सोमबार
  • धिरन खत्री
  • 286 पटक पढिएको

 

म्याग्दी, ४ मंसिर । बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर दर्शन गर्ने धार्मिक पर्यटक बढेका छन् । मुक्तिनाथ प्रवेशद्वारमा रहेको गलेश्वर मन्दिर दर्शन गर्ने आन्तरिक तथा बाह्य धार्मिक पर्यटक बढेका हुन् ।

दैनिक एक हजार देखि एकहजार पाचँसयसम्म धार्मिक पर्यटकले यहाँ दर्शन गर्न आउने गरेको गलेश्वर मन्दिरका पुजारी चन्द्रमणी अचार्यले बताउनुभयो । उहाँले मुस्ताङ घुम्न जाने र फर्कने आन्तरिक तथा बाह्य पर्यटकहरु गलेश्वर मन्दिरमा दर्शन गर्ने, यहाँ दृष्यहरुसंग रमाउने र फोटो खिचेर रमाउने गरेको बताउनुभयो । पछिल्लो समय कालीगण्डकी नदीको शिला अयोध्या लगेपछि गलेश्वर मन्दिरमा पछिल्लो समय भारतीय धार्मिक पर्यटकको संख्या बढेको उल्लेख गर्नुभयो ।

बेनी नगरपालिका–६ ठूलो पहिरो स्थित पवित्र कालीगण्डकीको शिला गत वर्षको माघ १२ गते गलेश्वर मन्दिरबाट पूजाआजा गरेर लगेपछि दर्शन गर्ने भारतीय धार्मिक पर्यटक संख्यामा वृद्धि आएको सदस्य सचिव खत्रीले बताउनुभयो ।

मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको गलेश्वरधाम हिन्दु धर्मावलम्वीहरुको प्रसिद्ध तीर्थस्थल मानिन्छ । धार्मिक, ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्त्वपूर्ण मानिएको गलेश्वरधाम रघुगंगा नदी र कालीगण्डकीको पवित्र संगममा ८ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित छ ।

पूर्वमा कृष्णागण्डकी, गायत्री मन्दिर, पश्चिम कालान्जरवन, पुलहाश्रम, उत्तरमा सप्त ऋषिहरूको तपोभूमि रिखार, धवलागिरि हिमशृङ्खला र मुक्तिनाथ, दक्षिण म्याग्दी सदरमुकाम बेनी बजार र म्याग्दी नदी रहेका छन् ।

गलेश्वरधामको दर्शन र पूजाआजा गरेमा सुख, शान्ति र समृद्धि हुने जनविश्वास छ । सदरमुकाम बेनी बजारबाट तीन कि. मि. उत्तरतर्फ पवित्र धार्मिक तीर्थस्थल गलेश्वर रहेको छ ।

  

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l