बेलुढुंगामा आन्तरिक पर्यटक बढे (फोटोफिचर)

  • २१ कार्तिक २०८०, मंगलवार
  • धिरन खत्री
  • 191 पटक पढिएको

 

म्याग्दी, २१ कात्तिक । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुंगामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुंगा आउने पर्यटकको संख्या वृद्धि हुदै गएको हो ।
बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओख्लेको सिमामा बेलढुंगा अवस्थित छ। बेलढुङ्गामा प्रवेश देउरालीमा पुगेको सडक र गण्डकी प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा पदमार्ग र भ्यूपोईन्ट लगायतको पूर्वाधार निर्माणले यहाँ पुग्ने पर्यटकलाई सहज बनाएको छ।


समुद्री सतहदेखि दुई हजार सातसय मिटर उचाईमा रहेको बेलुढुंगाबाट देखिने सुर्योदय, दन्तेलहर हिमाल र ग्रामिणबस्तीको दृष्यले स्वार्गमा आएको अनुभूति हुने अनुभव त्यहा पुगेका पर्यटकले गर्ने गर्छन। बेलढुंगा आउँदा निकै आनन्दित र ऊर्जा थपिएको सदरमुकाम बेनीबाट पुगेका पर्यटक एवम् पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो ।

सुर्योदय, दन्ते लहर हिमाल र धेरै ग्रामिण बस्ती र डाडाँकाडाँ देखिने म्याग्दीका एकमात्र ठाउँ बेलुढुंगा भएको बेनीबाट पुगेका अर्का पर्यटक घनश्याम खड्काले बताउनुभयो । ‘यहाँ आएपछि सुनेभन्दा राम्रो लाग्यो, पदमार्ग र हिमालको दृश्यले मनै लोभ्यायो’, उहाँले भन्नुभयो ।
एकदम राम्रो सुर्योदय, पूर्वी रुकुमको चुरेन हिमालदेखि गोर्खाको मनास्लु हिमालसम्म अवलोकन गर्न यहाँबाट पाउने भकिम्ली मुसुङका स्थानीयबासी पृथीबहादुर पुनले बताउनुभयो । ‘यहाँबाट चुरेन, गुर्जा, धौलागिरी, मानामाथि, निलगिरी साउथ, निलगिरी नर्थ, अन्नपूर्ण प्रथम, तिलिचोपिक, बराहशिखर, माछापुच्छे, गंगापूर्ण, लमजुङ हिमाल, मनास्लु हिमाल देख्नपाईन्छ ।’

धेरै ग्रामिण बस्ती र दन्ते लहर हिमालको दृष्य देखिने बेलुढुंगाको पर्यटन प्रवद्र्धनका लागि स्थानीय युवा तारामिलन छन्त्यालले रेखरचनामार्फत सुरुवात गर्नुभएको पृथीबहादुर पुनले बताउनुभयो। यसलाई पहिल्य मुसुङ धुरी पनि भन्ने गरिन्थ्यो, दाया म्याग्दी र बायाँ बागलुङ पर्ने बेलढुंगामा पूर्वाधार नबन्दा नाममा मात्र सिमित थियो । बागलुङका ओखलेकाले गोरु जुरे म्याग्दीका बेलुढुंगानै भन्ने थियो । पछिल्लो स्थानीय तहको सक्रियतामा स्वरुप फेरिएपछि पर्यटकको आगमन बढेको छ ।


पर्यटनको सम्भावना बलियो देखिएपछि वडाको नेतृत्व आउन वित्तिकै सूरुको बर्षमै एक लाख बजेटबाट पदमार्ग निर्माण सुरुवात गरेको वडाअध्यक्ष पदम पुनले बताउनुभयो । त्यसपछि भकिम्ली, भुकभकुेका स्थानीयबासी र काठेखोला गाउँपालिका धम्जा ओखलेका जनप्रतिनिधि र स्थानीयसंग सयुक्त रुपमा मिलेर यसको पूर्वाधार निर्माण कार्य अघि बढाईएको वडाअध्यक्ष पदम पुनले बताउनुभयो । उहाँले बागलुङको सक्रियतामा प्रदेश सरकारबाट २५ लाख, काठेखोला गाउँपालिका र बेनी नगरपालिबाट ५ लाख रुपैयाँ बजेट र मुसुङ, भुकभुके र धम्जा ओखले जनताको श्रमदानबाट ढुङ्गा छापेर बनाइएको रेलिङसहितको पदमार्ग, प्रवेशद्वारा, सूचना बोर्ड र प्राकृतिक भ्यूटावरका रूपमा रहेको बेलढुंगा माथि बनाईएको संरचनाले पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताउनुभयो । दुवैतर्फबाट बेलढुंगाको घाटीमा रहेको देउरालीमा सडक सुविधा पुगेको छ ।

‘प्राकृतिक पहाडको टुप्पोमा रहेको बेलढुंगाको प्रचार–प्रसार तथा पूर्वाधार निर्माणका कारण म्याग्दी र बागलुङबाट पर्यटक आउने क्रम बढेको छ । अहिले शुक्रबार र शनिबार अरू समयभन्दा बढी पर्यटक यहाँ आउने गरेका छन्’, वडाअध्यक्ष पुनले भन्नुभयो । ‘दुवै जिल्लाका स्थानीयवासीको पहल र प्रयत्नपछि अहिले फेरि बेलढुंगा नयाँ स्वरूप आएको छ।’

बेलढुंगाबाट पूर्व पर्वतको जलजला, उत्तरतर्फ धौलागिरी गाउँपालिका र ताराखोला गाउँपालिका, उत्तरतर्फ मंगला, रघुगंगा अन्नपूर्ण र दक्षिणतर्फ काठेखोला, धम्जा गुल्मीको ग्रामिण बस्ती देख्न सकिन्छ ।स्वर्गाश्रम र बेलढुंगामा आउने पर्यटकलाई लक्षित गरेर भकिम्लीका मुसुङ भुकभुकेमा होमस्टे संचालन गर्ने योजनामा रहेको वडाअध्यक्ष पुनले बताउनुभयो । बेनी १८ किमिको सडक सुविधाबाट बेलढुंगा पूग्न सकिन्छ ।

आध्यात्मिक स्थल स्वर्गाश्रम

बेनी नगरपालिका–३, भकिम्लीमा रहेको धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम क्षेत्र पूर्वाधार निर्माणले चिटिक्क बनेको छ । हिमाल अगाडी पहाडको थुम्कोमा रहेको एकसय बर्ष पुरानो ईतिहास बोकेको स्वर्गाश्रम ऋषिमुनिले तपस्या गरी ज्ञानआर्जन गरेको ठाउँको रुपमा परिचित छ ।
समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटर उचाइमा अवस्थित स्वर्गाश्रम प्राकृतिकरुपमा रमणीय र धार्मिक ऐतिहासिक महत्व बोकेको छ । यसक्षेत्रमा पछिल्लो समय प्रदेश र स्थानीय सरकारको सहयोग पदमार्ग, घेराबार, आश्रमस्थल मर्मत, भान्साघर निर्माण, प्रवेशद्वार निर्माणले चिटिक्क देखिएको छ।


आश्रममा १२ वर्षसम्म तपस्या गरी बस्नुभएकी इन्दिरा माताको नेतृत्व र स्थानीयको पहलमा केही वर्ष अगाडि सञ्चालित महायज्ञबाट संकलन भएको दान रकमबाट गणेश मन्दिर, पानी जम्मा गर्ने कुवा, आश्रम घर र तीर्थालु बस्ने सत्तल निर्माण गरिएको स्वर्गाश्रम बेलढुंगा क्षेत्र विकास समितिका अध्यक्ष रत्नबहादुर जिसीले बताउनुभयो ।

धार्मिक स्थल स्वर्गाश्रममा को अगाडिपट्टि चट्टानमाथि पानीको कुवा, धुपी सल्लाका सर्लक्क परेका रुख र ती रुखका बिचमा ग्रामीण शैलीको ढुंगाले छाएको २ तले परम्परागत घर छ। बटुवा र ध्यान बस्न आउनेहरूलाई लक्षित गरी चिटिक्कको सत्तल बनाइएको छ भने तपस्या स्थलदेखि विश्रामस्थल, प्रवेशद्वार र ढुंगा बिच्छाइएको स्वर्गाश्रम ओझेलमा छ । आश्रम आसपासको जंगलमा तत्कालीन समयमा ईश्वरानन्द सरस्वती एक्लै तपस्या र ध्यान बसेको ओडारसहितका अन्य भग्नावशेष अहिलेसम्म छ।

धार्मिक र पर्यटकीय दृष्टिकोणले समेत म्याग्दीको सदरमुकाम बेनीनजिकै रहेको आर्कषक गन्तव्य स्वर्गाश्रममा फाटफुट पर्यटक पुग्न थालेपछि गण्डकी प्रदेशले २० लाख, बेनी नगरपालिकाबाट २४ लाख र स्थानीयको जनश्रमदानबाट पूर्वाधार विस्तार गरेको स्वर्गाश्रम बेलढुंगा व्यवस्थापन समितिका अध्यक्ष रत्न जिसीले बताउनुभयो ।

प्राकृतिक रूपमा अत्यन्त रमणीय, आध्यात्मिक आस्थाको केन्द्र, पर्यटकीय सम्भावनाले युक्त स्वर्गाश्रमको प्रचारप्रसार नहुँदा ओझेलमा परेको बेनपा–३ का वडाध्यक्ष पदम पुनले भन्नुभयो । बेनी नगरपालिकाले पनि धार्मिक पर्यटकियस्थलको रुपमा विकास गर्न पर्यटकियस्थलको रुपमा सूचिकृत गरेको छ ।

स्वर्गाश्रमबाट मनोरम हिमशृंखला र बेनी बजारसहित, दर्जनौँ गाउँबस्तीलाई समेत अवलोकन गर्न सकिन्छ । स्वर्गाश्रममा हरेक वर्षको वैशाख १ गते रथयात्रासमेत गरिँदै आइएको छ । पुरानो इतिहास बोकेको आश्रमको प्रचारप्रसार गरी पर्यटन विकास गर्नसकेमा यस क्षेत्रमा धार्मिक पर्यटकलाई भित्र्याउन सकिने समितिका अध्यक्ष जिसीले बताउनुभयो ।

भकिम्लीबासी स्वर्गाश्रमदेखि करिब आधा घण्टाको पैदल दूरीमा रहेको बेलढुंगा र स्वर्गाश्रमलाई एकीकृतरुपमा धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्न लागि परेका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l