गण्डकीका भलिबल सेटर चोखाल सम्मानित

  • १२ कार्तिक २०८०, आईतवार
  • 283 पटक पढिएको

 

म्याग्दी, १२ कात्तिक । राष्ट्रिय भलिबल खेलाडी सुजन चोखाललाई अमेरिकाको बेलमोन्ट भलिबल क्लवले रु. २५ हजार नगद पुरस्कार सहित सम्मान गरेको छ ।

बेनी नगरपालिका–९ घतानका चोखाल गण्डकी प्रदेशको भलिबल टिमबाट राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि खेलाडी हुनुहुन्छ । अमेरिकाको बाल्टीमोर राज्यमा रहेको बेलमोन्ट भलिबल क्लवले चोखाललाई पुरस्कृत र सम्मानित गरेको हो ।

क्लवका प्रतिनिधि रोशन सुवेदीले आइतबार घतानमा चोखाललाई नगद र सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । चोखाल गण्डकीको टिममा सेटरको भूमिकाबाट खेल प्रर्दशन गर्दै आउनुभएको छ ।

सुवेदीले आफ्नो व्यक्तिगत तर्फबाट नेप्टेचौरको युवा क्लवलाई दुई थान भलिबल पनि उपलब्ध गराउनुभएको छ । प्रतिभावान खेलाडी चोखाललाई प्रोत्साहन र हौसला प्रदान गर्न सम्मान गरेको बेलमोन्ट भलिबल क्लवका प्रतिनिधि सुवेदीले बताउनुभयो ।