मुस्ताङमा लेक लागेर चार दिनमा तीन जना पर्यटकको मृत्यु

  • २४ आश्विन २०८०, बुधबार
  • 269 पटक पढिएको

मुस्ताङ २४ असोज । मुस्ताङमा घुम्न गएका ३ पर्यटकको लेक लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो चार दिनमा तीन जना पर्यटकको मृत्यु भएको हो । मंगलबार श्वास प्रश्वासमा समस्या आएपछि भारतको तमिलनाडु घर भएकी ६५ वर्षीय रेवतीको उपचारको क्रममा बुधबार मृत्यु भएको छ । उनलाई घासामा पुग्दा श्वास फेर्न समस्या भएको प्रहरीले जनाएको छ । रेवतीको लेतेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी प्रमुख भोज पाण्डेले जानकारी दिए । शव पोष्टमार्टमको लागि पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको उनले बताए ।  यस्तै, आइतबार पनि मुक्तिनाथमा भारतकै नागरिकको मृत्यु भएको छ । भारत तिलंगा बस्ने ६६ वर्षका जी सत्यनारायणलाई मुक्तिनाथमा श्वास प्रश्वासमा समस्या आएको थियो । उनको जोमसोम अस्पतालमा उपचार गर्दै गर्दा मृत्यु भएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए । उनको शव पनि पोष्ट मार्टम गर्न पोखरा ल्याइएको छ । प्रहरी प्रमुख पाण्डेका अनुसार गत शुक्रबार मुक्तिनाथ नजिकै झोङमा हाइकिङ गर्ने क्रममा युक्रेनी नागरिकको मृत्यु भएको थियो । ३५ वर्षकी अन्ना पनिनाको श्वास प्रश्वासमै समस्या आएर मृत्यु भएको पाण्डेले बताए । उनलाई श्वास फेर्न गाह्रो भएपछि जिल्ला अस्पताल जोमसोम पुर्‍याइएको थियो । सोही दिन साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पनिनाको शव हेलिकोप्टर मार्फत काठमाडौँको शिक्षण अस्पताल लगिएको छ ।